सत्तामा झेल : नेकपाको सचिवालय बैठकले ओलीको भविष्यबारे टुंगो लगाउँदै
सत्ता मा जारी जालझेलको बिभिन्न दाउपेचबीच नेकपा सचिवालयको बैठक बस्दै छ । आजको बैठकमा उपाध्यक्ष बामदेव गौतम निर्णायक सावित हुनेछन् । उनले लिने निर्णयले प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा रहने वा हट्ने टुंगो लाग्न सक्छ ।
त्यसैले गौतमलाई फकाउन हिजो भैंसेपार्टीमा सबै पक्षका नेता तथा विश्वासपात्रहरु सँग बैठक बसेको थियो । पासा कता पल्टियो वा पल्टिने छ त्यसको छिनोफानो आजको बैठकबाट हुने बताइएको छ ।
हिजो दिनभर र रातिसम्म नेपाल कम्युनिस्ट पार्टीभित्र र बाहिर राजनीतिक सक्रियता निकै बढ्यो । नेताहरुको आपसी भेटघाट र संवादमात्र भएन चिनियाँ राजदूत होउ यान्छी पनि भेटघाट तिव्र पारिन् । सबै भेट नेकपा विवादसँग सम्बन्धित रहेको खुलिसकेको छ ।
१७ वैशाखको सचिवालय बैठक विना निष्कर्षमा टुंगिएपछि तीन दिनसम्म नेकपाभित्र घनीभूत भेट र संवाद भएका छन् । यसले विवादको छिनोफानो आज लगाउने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएको छ । तर, उनी राजीनामा दिन तयार छैनन् । बरु छाड्नैपरे बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने निर्णयमा पुगेका छन् ।
यसले उक्त पार्टीभित्र तरंग आएको छ । नेताहरुले विभिन्न अस्त्र छाडिरहँदा दुर्घटनाको खतरा समेत औल्याइएको छ । नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दा आजको सचिवालय बैठकमा नेताहरु ठूलो तयारीमा पुग्ने बुझिएको छ ।
सबैको आ आफ्नै प्रस्ताव आउन सक्छन् । सहमतिको बिन्दु पनि खोजिनसक्ने बुझिएको छ ।