अनिल झा र राजकिशोर यादवको सहमतीसँगै सपासँगको एकीकरण अनुमोदन
राजपा नेपाल अध्यक्षमण्डलका सदस्यहरु अनिलकुमार झा र राजकिशोर यादवलको सहमति सँगै समाजवादी पार्टीसँग भएको एकीकरण अनुमोदन भएको छ ।
बैशाख १६ गते बसेको तत्कालीन राजपा नेपाल अध्यक्षमण्डलको बैठकले दुई दल बीचमा भएको सहमतिलाई अनुमोदन गरेको छ ।
एकीकरणका लाागि भएको सहमतिलाई अनुमोदन गर्ने माइन्युटमा अनिलकुमार झा र राजकिशोर यादवसहित तत्कालीन अध्यक्षमण्डलमा रहेका ६ जना सदस्यकै हस्ताक्षर रहेको छ ।
दुई पार्टी बीच एकीकरणका लागि सैद्धान्तिक सहमति भएको दिन यी २ नेता अनुपस्थित भएपछि एकीकरणबारे विभिन्न आशंका गरिएको थियो । तर उनीहरूले पनि त्यसमा हस्ताक्षर गरी सहमति जनाएपछि पार्टी दर्ताको प्रकृया अगाडि बढेको जनाइएको छ ।
समाजवादी पार्टीसँगको एकीकरण विषयलाई लिएर यी दुईजना नेताले शुरुदेखि नै फरकमत राख्दै आएका थिए । उनीहरूले अरु दलसँग एकिकरण गर्नु भन्दा पहिले आफ्नै पार्टी ब्यवस्थित हुनुपर्ने अडानमा थिए ।
६ दल मिलेर बनेको राजपा नेपालको महाधिवेशन गरि व्यवस्थित ढंगले समाजवादी पार्टी लगायत अन्य दलसँग एकीकरण गर्नुपर्ने तर्क उनीहरूको थियो ।
तर राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारीले दुई दलबीच एकीकरण गरेर एकताको महाधिवेशन गर्ने तर्कसहित अगाडि बढेका थिए त्यसमा उनीहरू सफल भएका छन् ।
एकीकरणको सहमति अनुमोदन भएपछि दर्ता प्रकृया अगाडि बढेको छ । तत्कालीन समाजवादी पार्टी र राजपा नेपालले केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गर्ने कार्य तीब्र पारिएको छ ।
सबैको हस्ताक्षर आइसकेपछि पार्टी दर्ताका लागि निर्वाचन आयोगमा बुझाउनेछ । लकडाउनमा केन्द्रीय समितिको बैठक बोलाउन सम्भव नभएको कारण केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरिरहेको छ ।