लकडाउनबीच चारदिनभित्रै महोत्तरीमा ८ जनाको मृत्यु, गाउँमा त्रास
प्रदेश २ स्थित महोत्तरी जिल्लाको २ बस्तीमा ४ दिनमै ८ जनाको मृत्यु भएको छ । तर कारण भने अझै खुलेको छैन ।
उनीहरुमा अचानक पेट दुख्ने, झाडापखाला लाग्ने र बान्ता हुने लक्षण देखापरेको स्थानीयले बताएका छन् ।
भंगाहा-७ स्थित मेघनाथ गोरहन्ना र बर्दिवास नगरपालिका-१२ का स्थानीयको मृत्यु भएको हो ।
कतिपय राति सुतेको अवस्थामा बिहान मृत भेटिएका थिए ।
बर्दिवास-१२ मा शुक्रबार बिहान ५५ वर्षीया मोमनीदेवी सर्दार र २६ वर्षीय सोपिन्द्र मण्डलको समेत मृत्यु भएको हो ।
सोही ठाउँका ५२ वर्षीय गंगाराम सदाको बुधबार मृत्यु भएको थियो भने सो बस्तीसँगै जोडिएको भंगाहा-७ मेघनाथ गोरहन्नामा मंलबारयता ५ जनाको मृत्यु भइसकेको छ ।
मंगलबार ४८ वर्षीया नथुनी महरा र ४० वर्षीय मोहन चौधरीको मृत्यु भएको थियो । बुधबार ५४ वर्षीय लालबाबु सिंह तथा बिहीबार ६० वर्षीय सुकदेव महरा र ४० वर्षीय सिकेन्द्र सिंहको मृत्यु भएको थियो ।
अघिल्लो बिहीबार भंगाहा-७ कै महेन्द्र चौधरीको पनि मृत्यु भएको थियो । चौधरीसहित सो बस्तीमा मृत्यु हुनेको संख्या ९ पुगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
लकडाउनका बेला अज्ञात रोगबाट मृत्यु भएको भन्दै गाउँले त्रसित बनेका छन् । उनीहरुले मृतकमा कोरोना भए/नभएको तत्काल पुष्टि गरिदिन सम्बन्धित पक्षसँग माग गरेका छन् ।
मृतक सबै विपन्न परिवारका हुन् । उनीहरुलाई किरिया खर्चबापत २० हजार उपलब्ध गराइने भंगाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले बताए ।
स्थानीय केही व्यक्ति र जनप्रतिनिधिले भने उनीहरुको मृत्यु अत्यधिक विषाक्त मदिरा सेवनबाट भएको हुन सक्ने बताएका छन् ।
‘मृत्यु हुने व्यक्तिहरु मदिराका अम्मली भएकाले रक्सी सेवनबाटै घटना भएको हुन सक्ने अनुमान गरेका छौं,’ भंगाहा नगरपालिकाका मेयर साहले भने ।
दिउँसो काम गरेर राति सुतेका व्यक्ति बिहान मृत फेला परेकाले उनीहरुलाई कोरोना संक्रमण थियो भन्ने आधार नभएको उनको भनाइ छ ।
बर्दिवास-१२ का अध्यक्ष रामकिशोर साहले पनि मृतकले बढी मदिरा सेवन गरेकै कारण उनीहरुको ज्यान गएको बताए । अखाद्य कच्चापदार्थ प्रयोग गरी बनाइएको विषाक्त रक्सी सेवन गरेकै कारण उनीहरुको ज्यान गएको उनले दाबी गरे ।
मृतकमध्ये सिकेन्द्र सिंह र सुकदेव महराको पोस्टमार्टम गरिएको छ । मृतकमा कोरोनाको समेत आरडीटी गरिएको थियो । उनीहरुम रिपोर्ट नेगेटिभ आएको एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।