Logo
१ मंसिर २०८१, शनिबार
(May 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरस चीनको ल्याबबाट नै फैलिएको प्रमाण मसँग छ : ट्रम्प

सुरुमा चीनको वुहान शहरबाट उत्पति भएको कोरोना भाइरस चीनको ल्याबबाटनै फैलिएको प्रमाण आफूसँग भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् ।

एकतर्फ अमेरिकाकै जासुसी एजेन्सीले कोरोना भाइरस जानीबुझी उत्पन्न नभएको बताइरहेको छ भने अमेरिकी राष्ट्रपति ट्रम्पले यो भाइरस चीनको वुहान शहरमा रहेको प्रयोगशालाबाट फैलिएको दाबी गरेका हुन् ।

ट्रम्पले चीनको वुहानस्थित इन्सटिच्युट अफ भायरोलोजीमा भएको असावधानीका कारण कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको दाबी गर्दै आएका छन् ।

बिहीबार एक जना पत्रकारले ट्रम्पलाई प्रश्न गरे– कोरोना भाइरस वुहान इन्स्टिच्युट अफ् भायरोलोजीबाटै फैलिएको हो भनेर आत्मविश्वासका साथ कसरी भन्न सक्नुहुन्छ ? के तपाईँसँग कुनै प्रमाण छ ?

यो प्रश्नको उत्तर दिँदै ट्रम्पले भने, ‘अवश्य मसँग छ । चीनको प्रचारप्रसार गरिरहेकोमा विश्व स्वास्थ्य सङ्गठनलाई लाज हुनुपर्ने हो । डब्ल्यूएचओ चीनको पब्लिक रिलेशनको रुपमा काम गरिरहेको छ ।’

‘चीनले जानीबुझी वा भुलवश यस्तो गल्ती गरेको हो, यसबारेमा भने थाहा छैन । अथवा कुनै लक्ष्य पूरा गर्न गरेको हो । मलाई थाहा छ, मानिसहरुलाई हुबेई प्रान्तदेखि बाहिर बाँकी चीनमा जाने अनुमति थिएन तर पूरै विश्वमा जाने अनुमति थियो । पूरै चीनमा आवत जावतमा प्रतिबन्ध लगाइएको थियो तर विश्वभर जानका लागि कुनै प्रतिबन्ध थिएन । यो निकै गलत भयो । यो निकै कठिन प्रश्न हो र यसको उत्तर पाउन बाँकी छ’, ट्रम्पले भने ।

कोरोना भाइरसलाई लिएर पछिल्लो समय अमेरिका र चीनबीच वाकयुद्ध चलिरहेको छ । ट्रम्पले लगातार चीनमाथि आरोप लगाउँदै आए पनि चीनले अस्वीकार गर्दै आइरहेको छ ।

यद्यपि पछिल्लो समयमा कोरोनाको कारण अमेरिका सबैभन्दा धेरै प्रभावित भएको छ । सङ्क्रमित हुने र ज्यान गुमाउने दुवैको सङ्ख्या अमेरिकामा धेरै छ ।

अमेरिकामा १० लाख ९५ हजारभन्दा धेरैको सङ्क्रमण पुष्टि भएकोमा ६३ हजार ८ सयभन्दा धेरैको मृत्यु भएको छ ।कोरोना भाइरसका कारण विश्भरी अहिलेसम्म ३२ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् भने २ लाख ३१ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: May 1, 2020

प्रतिक्रिया दिनुहोस्