Logo
२९ कार्तिक २०८१, बिहीबार
(April 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गलत घोषणा गरेर राहत लिनेसँग असुलउपर गरिने, सिफारिस गर्ने जनप्रतिनिधिलाई कारवाही

सरकारले लकडाउनबाट प्रभावित विपन्न तथा मजदुर परिवारलाई काममा लगाएर मात्र राहत दिने भएको छ ।

गलत घोषणा गरेर राहत लिएको पाइए सरकारी बाँकी सरह असुलउपर गर्ने र राहत दिन योग्य भनेर सिफारिस गर्ने वडाध्यक्ष र वडा सदस्यलाई कारवाही गर्ने निर्णय पनि भएको छ ।

काम नगर्नेहरुले काम गर्नेहरु पाउने राहतको २५ प्रतिशत मात्र पाउनेछन् । दोस्रो चरणको राहत प्याकेज ल्याएको सरकारले असंगठित क्षेत्रका रोजगारविहीन मजदुरहरुलाई स्थानीय तह, प्रदेश वा संघीय सरकारबाट सम्पादन हुने सार्वजनिक काममा लगाउने योजना अघि सारेको छ ।

यसरी काममा लगाउँदा दैनिक ज्याला वा नगद उपलब्ध गराइनेछ । स्थानीय तहले असंगठित क्षेत्रमा मजदुरलाई राहत दिँदा मापदण्ड अनुसार ज्याला दर तोकेर मात्र वितरण गर्नेछ ।

ज्याला निर्धारण गर्दा स्थानीय तहले परिवारको लागत तयार गर्नेछ भने राहत माग गर्ने परिवार सम्बन्धित स्थानीय तहको रोजगार केन्द्रमा सूचीकृत हुनुपर्नेछ ।

सरकारले भनेअनुसार काममा नआउने र काम गर्न नचाहनेलाई काममा आउनेहरुले पाउने ज्याला वा खाद्यान्नको २५ प्रतिशत मात्रै उपलब्ध गराइनेछ ।

साथै राहत दावी गर्नेले आफ्नो परिवारमा कोही पनि स्वरोजगार नरहेको, औपचारिक रोजगारीमा नरहेको र आयआर्जजनको वैकल्पिक स्रोत नभएको स्वघोषणा गर्नुपर्नेछ ।

स्रोतको व्यवस्थापन :

यो वर्ष ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’का नाममा स्थानीय तहहरुमा साढे २ अर्ब रुपैयाँ रकम गएको छ ।

अब स्थानीय तहले राहत चाहनेहरुलाई काममा लगाएर यही रकमबाट नगद वा खाद्यान्न उपलब्ध गराउनेछ ।

यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्थानीय तहका विकास कार्यक्रम र कोभिड– १९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा भएको रकम पनि यसरी परिचालन गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रदेशले पनि यस्ता कोषबाट स्थानीय तहमा पैसा उपलब्ध गराउने र अपुग भए संघीय सरकारको कोषबाट माग गर्न सकिने मन्त्रिपरिषद बैठकको निर्णय छ ।

दोस्रो राहत प्याकेजमा इच्छुक सामाजिक संघसंस्थासँग समन्वय र सहकार्य गर्न स्थानीय तहलाई बाटो खुला गरिएको छ । राहत उपलब्ध गराउँदा गर्भवती, अपांगता भएका व्यक्ति, वृद्धाश्रममा रहेका वृद्धवृद्धा, बालगृहमा रहेका बालबालिकालाई संरक्षणको विशेष व्यवस्था गरिनेछ ।

प्रकाशित मिति: Apr 30, 2020

प्रतिक्रिया दिनुहोस्