Logo
१ मंसिर २०८१, शनिबार
(April 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री बन्ने लाइनमा माधव नेपाल : ओली र प्रचण्ड दुवै शर्तसहित फकाउँदै

नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद गरिहिदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीको पद धरापमा परेको छ ।

उनलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट हट्न प्रभावशाली नेताहरुले भेटेरै भनेको खुलासा भइसकेको छ ।

ओली कुनै हालतमा सत्ता सजिलै छाड्ने पक्षमा छैनन् । उनले हिजो उपाध्यक्ष वामदेव गौतमसँगको चर्काचर्कीमा देखाइदिने सम्मको धम्की दिने ।

उनले अविश्वासको प्रस्ताव ल्याएमा सामना गर्ने भनेपछि संकट सहजै पार नलाग्ने देखिएको छ ।
नेकपाभित्र संसदीय दलमा केपी शर्मा ओलीको अझै बहुमत रहेको उनी पक्षधरले दाबी गर्दै आएका छन् ।

९ सदस्यीय सचिवालयमा ओली अल्पमतमा छन् । उनको पक्षमा ईश्वर पोखरेल मात्र खुलेर लागेका छन् । तर, अन्तिम टुंगो केन्द्रीय कमिटिले लगाउनसक्छ ।

केन्द्रीय कमिटिमा कसैको बहुमत छैन । माधवकुमार नेपालले जसलाई साथ दिन्छन् उसैको पल्लाभारी हुन्छ ।

अब नेकपामा माधव निर्णायक शक्ति बनेका छन् । त्यसैले उनलाई मनाउन ओली र प्रचण्ड दुवै लागेका छन् ।

माधव नेपाल आफू प्रधानमन्त्री बन्ने अवस्थामा मात्र ओलीलाई हटाउने मोर्चामा सरिक हुनसक्छन् । विश्वस्त स्रोतका अनुसार उनलाई प्रचण्ड र ओली दुवैले प्रधानमन्त्रीमा समर्थन गर्ने शर्तसहित प्रस्ताव गरेका छन् ।

ओलीले बजेटपछि माधव नेपाललाई छाड्ने प्रस्ताव गरेको स्रोतले बताएको छ । प्रचण्डले भने आफू एकमात्र पार्टी अध्यक्ष बन्ने सर्तमा छाड्न तयार देखिएका छन् ।

तर, अध्यक्षको दाबी झलनाथले पनि गरेबाट कुरा मिलाउन कठिन छ । झलनाथले कुनै पद नपाएमा समर्थन नगर्ने सम्भावना रहन्छ । त्यतिबेला ओलीलाई राहत पुग्न सक्छ ।

अहिले पाँचजना प्रभावशाली नेताहरु पार्टीमा प्रभाव बनाउन राजनीतिक अस्त्र र शर्तहरुसहित प्रस्तुत भएका छन् । ओलीलाई हटाउँदा कसले के पाउने सम्मको कुरा भइसकेको बुझिएको छ ।

माधव नेपाल प्रधानमन्त्री बनेमा वामदेवले राष्ट्रियसभा सदस्यसहित उपप्रधानमन्त्री तथा गृहमन्त्री पाउने गरी कुरा मिलेको बुझिएको छ ।

विष्णु पौडेल र भीम रावल पनि सरकारमा सामेल हुन पाउनेछन् । तर, झलनाथको पनि पार्टीमा मुख्य पदको दाबी रहेको स्रोतले बतायो ।

प्रचण्डको एकमात्र अध्यक्ष बन्ने रणनीति एकातर्फ छँदैछ । माधव नेपाल प्रचण्डलाई सिंगो पार्टीको बागडोर दिएर प्रधानमन्त्री बन्न तयार छैनन् ।

यसकारण उनले ओलीसँग सम्झौता गरेर अध्यक्ष उनलाई नै छाडेर प्रधानमन्त्री बन्ने सम्भावना पनि रहेको छ । तर, ओली माधवलाई थमथमाएर सत्ता टिकाउने कसरत गरिनै रहेका छन् ।

कस्को पक्षमा कति
नेकपाभित्र ओली सरकार धरापमा परेपछि कुन नेताको पक्षमा कति सांसद, सचिवालय, स्थायी र केन्द्रीय सदस्य छन् भन्ने गणना हुन थालेको छ ।

प्रधानमन्त्री ओली निकटस्थहरुले संसदमा उनी पक्षधरको पूर्ण बहुमतको दाबी गर्दै आएका छन् । ८२ सांसद ओलीको पक्षमा रहेकाले कसैले हल्लाउन नसक्ने दाबी छ ।

कतिपय ओली निकटस्थहरु माधव नेपालको पक्षमा पुगिसकेका छन् । सचिवालयमा प्रधानमन्त्री ओलीको पक्षमा आफूसहित तीनजना छन् ।

ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल उनको पक्षमा देखिएका छन् । तर, पौडेल कुनैपनि बेला यु टर्न हुनसक्छन् ।

प्रचण्डका पक्षमा नारायणकाजी स्पष्ट देखिएपनि रामबहादुर थापा बादलको भर हुन छाडेको छ । तैपनि प्रचण्डको पक्षमा आफूसहित कुल ३ जनाको गणना भएको छ ।

ओलीविरोधी तप्कामा देखिएका वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल एक्ला एक्लै छन् । स्थायी कमिटि र केन्द्रीय कमिटिमा दुवै नेताको पकेट मान्छेहरु छन् ।

स्थायी समितिको ४५ मध्ये ३२ जना प्रचण्ड र माधव नेपालको पक्षधर छन् । त्यहाँ पनि ओली अल्पमतमा छन् । पूर्व माओवादीबाट १९ र नेपाल पक्षका १४ छन् ।

नेकपा एकीकरणपछि स्थायी समितिमा पूर्व एमालेबाट २६ र पूर्व माओवादी पक्षबाट १९ जना मनोनित गरिएका थिए ।

तत्कालीन नेकपा माओवादी केन्द्रबाट थायी समिति सदस्यहरु देव गुरुङ, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्फा भुसाल, मात्रिकाप्रसाद यादव, गणेश साह, लेखराज भट्ट, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, लिलामणि पोखरेल र मणि थापा छन्।

माधव निकट स्थायी समिति सदस्यहरु भीम रावल,अष्टलक्ष्मी शाक्य,युवराज ज्ञवाली, घनश्याम भुसाल,भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने,रघुजी पन्त,बेदुराम भुसाल हुन् ।

केन्द्रीय समितिमा पूर्व माओवादीको ४३ प्रतिशत सदस्य छन् । पार्टी एकीकरणका बखत ४० प्रतिशत भएपनि पूर्व माओवादी छाडेर अन्य दलमा गएकाहरुलाई भित्राएर केन्द्रीय सदस्य बनाइएको थियो ।

यसरी पार्टीभित्र प्रचण्डले आफूलाई मजबुत बनाएका छन् । पूर्व एमालेबाट ओली र नेपाल पक्षधर जोड्दा मात्र प्रचण्डको भन्दा बढी हुन आउँछ ।

तर, अहिले ओली र प्रचण्डबीचको द्धन्द्धमा माधव नेपाल निर्णायक शक्ति बनेका छन् । यसको लाभ उनैले लिनसक्ने देखिएको छ ।

रिपोर्टस नेपालबाट

प्रकाशित मिति: Apr 26, 2020

प्रतिक्रिया दिनुहोस्