भैंसेपाटी बैठकमा ओलीबारे निर्णयबीच : प्रधानमन्त्री पुगे राष्ट्रपति भवन शीतलनिवास
भैंसेपाटी बैठकमा नेकपाका शिर्ष नेताहरूले विभिन्न निर्णयहरु गरिरँदा प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् ।
पार्टीमा छलफल नै नगरी दुई अध्यादेश ल्याएपछि चर्को आलोचना खेपेका प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न बिहीबार साँझ शितल निवास पुगेका हुन् ।
प्रधानमन्त्री ओली शीतलनिवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि बिहीबार बिहान प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल लगायतका नेतासँग अध्यादेशबारे छलफल गरेका थिए ।
उक्त छलफलमा ओली आफू अध्यादेश फिर्ता गर्न तयार भएको बताएका थिए । राष्ट्रपतिका सञ्चार विज्ञ भेषराज दाहालले राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवास आउनु सामान्य भएको बताए ।
उनले सरकारका कामबारे रिपोर्टिङका क्रममा यस्ता भेटघाट भइरहने बताए । पछिल्लो विकसित घटनाक्रमलाई लिएर कसरी अघि बढ्ने भनेर नेकपा अध्यक्ष प्रचण्ड, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु पनि आपसी छलफलमा जुटेको बताइएको छ ।
सचिवालयका बहुमत सदस्यहरूले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनु नै उपयुक्त हुने निष्कर्ष निकालेका छन् ।
बिहीबार नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
भेटमा ओलीले अध्यादेश फिर्ता लिने बताएका थिए । त्यसलगतै सरकारमा नरहेका सचिवालयका ६ नेताहरु भैंसेपाटीमा भेला भएका थिए ।
अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल र नारायणकाजी श्रेष्ठबीच अनौपचारिक छलफल भएको थियो ।
‘यो अनौपचारिक समीक्षा मात्र थियो । तर सबैको राय अध्यादेश फिर्ता लिनु नै सही हुन्छ भन्ने रह्यो,’ एक नेताले अनलाइनखबरलाई भनेका छन् ।
नेताहरुकाअनुसार सरकारले अध्यादेश फिर्ताको निर्णय गरेपछि सचिवालय बैठक बस्नेछ । त्यसपछि नेताहरुको मागअनुसार स्थायी कमिटी बस्ने सम्भावना छ ।
बुधबार मात्र स्थायी कमिटीका २० सदस्यले बैठक माग गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई लिखित पत्र बुझाएका थिए ।