Logo
११ माघ २०८१, शुक्रबार
(April 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेणु अध्यक्ष, इस्तियाक संसदीय दलका नेता : यी हुन् पार्टी फुटाउने ७ सांसद

समाजवादी पार्टीका बिद्रोही ७ जना सांसदहरुले पार्टीकी उपाध्यक्ष रेणु यादवको नेतृत्वमा नयाँ पार्टी बनाउने निर्णय गरेका छन्।

नयाँ पार्टीको अध्यक्षमा रेणु यादव र संसदीय दलका नेता इस्तियाक राईन रहनेछन् । यादव र राईन सहित सांसदहरु प्रदिप यादव, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा, सुरेन्द्र यादव र रेणुका गुरुङ रहेका छन् ।

अलग पार्टी गठन गर्ने तयारीका लागि बुधबार राती बिद्रोही सांसदहरू रेणु यादवको शान्तिनगरस्थित निवासमा भेला भएका थिए ।

असन्तुष्ट पक्षले भोलि (बिहीबार) नै नयाँ पार्टी गठन गर्ने निर्णय गरेका छन्। पार्टी विभाजनकै लागि भनेर महोत्तरीमा रहेका सांसद सुरेन्द्र यादव सरकारी सहयोगमा सडकमार्ग हुँदै काठमाडौं आईपुगेको एक सांसदले बताए। उनले भने ‘उहाँ केहिबेर अघि काठमाडौं आइपुगेका छन् । उहाँले पनि पार्टी विभाजनमा हस्ताक्षर गरिसक्नु भएको छ ।’

दिउँसो यादव जनकपुरबाट एक्कासि सम्पर्कबिहीन भएपछि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उनलाई सरकारको निर्देशनमा प्रहरीले अपहरण गरेको आरोप लगाएको थियो।

उनलाई प्रहरीले गाडीमा राखेर लगेको आफूहरूले देखेको समाजवादीका स्थानीय कार्यकर्ताले दावी गरेका छन्।

उनलाई प्रहरीले अपहरण गरेको नभई पार्टी विभाजनमा सहभागी हुन उनी काठमाडौं आएको बताईएको छ । त्यसमा सरकारले सहयोग गरेको बुझिएको छ।

समाजवादी पार्टीका प्रतिनिधि सभामा जम्मा १७ जना सांसद छन्।

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा कुनै पार्टी फुटाएर नयाँ पार्टी गठनका लागि सो पार्टीको संसदीय दल र केन्द्रीय कमिटिमा ४०\४० प्रतिशत सदस्यको समर्थन हुनुपर्ने कानुन थियो।

दुई दिनअघि मात्रै प्रधानमन्त्री केपी ओलीले मन्त्रीपरिषद बैठक बोलाएर अध्यादेशमार्फत संसदीय दल वा पार्टीको केन्द्रीय समितिमध्ये एउटामा ४० प्रतिशत सांसदको समर्थन भए पार्टी विभाजन गरेर नयाँ पार्टी गठन हुनसक्ने व्यवस्था गरेका थिए।

नेकपामा बहुमत सचिवालय सदस्यहरूको विरोध हुँदाहुँदै सो अध्यादेश राष्ट्रपतिले केही घण्टामै जारी गरिदिएकी थिइन्। नयाँ अध्यादेशअनुसार समाजवादी पार्टी फुटाएर नयाँ पार्टी गठन गर्न सात जना सांसद भए पुग्छ।

यता, मध्यरातमा समाजवादी पार्टी र राजपाले एकीकरणको घोषणा गरेका छन्। दुवै पार्टी एक भएपछि सात सांसदले मात्र एकीकृत पार्टीको संसदीय दलको ४० प्रतिशत पुग्ने छैन।

तर त्यसका लागि एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता हुनुपर्नेछ। जुन पार्टी पहिले दर्ता भयो त्यसैले बाजी मार्छ।

नयाँ एकीकृत पार्टी निर्वाचन आयोगमा पहिले दर्ता भयो भने समाजवादी फुटाएर सात सांसदले अर्को नयाँ पार्टी दर्ता गर्न पाउने छैनन्।

तर सत्ताको साथ रेणु यादव नेतृत्वका सांसदलाई रहने हुनाले उनीहरूकै पार्टी निर्वाचन आयोगमा दर्ता हुन्छ भन्ने विश्लेषकहरूको अनुमान छ।

राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार अबेर राति पार्टी एकता घोषणा भएको हो।

दुई पार्टी एकता भएपछि नाम ‘जनता समाजवादी’ राखिएको छ। एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको झण्डा हुनेछ भने चुनाव चिन्ह छाता हुनेछ।

लामो समयदेखि एकीकरण प्रक्रियामा रहेको राजपा र समाजवादीबीच बुधबार राति सहमति भएको हो। पार्टीको वरीयता क्रममा महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको छ।

प्रकाशित मिति: Apr 23, 2020

प्रतिक्रिया दिनुहोस्