सरकारले नै आर्थिक चलखेल गरी पार्टी फुटाउने षड्यन्त्र थाल्यो : उपेन्द्र यादव
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले राजनीतिक दल सम्बन्धी ल्याका अध्यादेश सत्ता-शक्ति, पद र आर्थिक चलखेल गरी फुटाउने षड्यन्त्रका लागि भएको बताएका छन् ।
यसले मुलुकमा राजनीतिक अस्थिरता ल्याउने र लोकतन्त्रलाई समाप्त पारी देशलाई नै ठूलो दुर्घटनामा पार्ने उनले बताएका छन् ।
समाजिक संजालमार्फत आएको यादवको प्रतिक्रिया जस्ताको त्यस्तै :
अन्य मुलुकहरुसँगै नेपाल पनि कोरोना भाइरस (कोभिड–१९) बाट आक्रान्त भई नेपाली जनता लकडाउनको पीडा भोगिरहेको अवस्थामा सरकारले ‘राजनीतिक दल सम्बन्धी (दोश्रो संशोधन) अध्यादेश, २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ मार्फत् कानूनहरु संशोधन गरेको छ ।
राजनीतिक पार्टीहरुलाई सत्ता–शक्ति, पद र आर्थिक चलखेल गरी फुटाउने षड्यन्त्र गर्न अध्यादेश ल्याइएको हो । यसले मुलुकमा राजनीतिक अस्थिरता ल्याउने र लोकतन्त्रलाई समाप्त पारी देशलाई नै ठूलो दुर्घटनामा पार्ने देखिन्छ ।
यसले नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त – सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशीतालाई धरापमा पार्ने र सिंगो मुलुकलाई नै द्वन्द र अस्थिरतातर्फ धकेल्नेछ । उक्त अध्यादेश लोकतन्त्र र संविधानको मर्म र भावनाका प्रतिकूल हुनुका साथै देश र जनताको हितविरुद्ध पनि छन् ।
यसलाई सरकारले फिर्ता लिनु पर्दछ । कोरोना महामारीबाट जनताको जीवनको रक्षा गर्दै लोकतन्त्रको रक्षा र राष्ट्रिय हितका लागि सरकारले चालेको गैर–लोकतान्त्रिक कदमका विरुद्ध एकतावद्ध हुन आमजनसमुदाय तथा लोकतान्त्रिक शक्तिहरुसँग अनुरोध छ ।