आफ्नै पार्टीलाई साईजमा राख्न ओलीले अध्यादेश ल्याएका हुन्, मेरो पार्टी फुट्दैन : उपेन्द्र यादव
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपालाई नै साईजमा राख्न सरकारले राजनीतिक बिभाजन सम्बन्धि अध्यादेश ल्याएको बताएका छन् ।
कोरोना महामारीका बेला लोकतन्त्रलाई समाप्त पार्ने षड्यन्त्रमा सरकार रहेको उनको प्रतिक्रिया रहेको छ ।
देशलाई तानाशाही व्यवस्थातिर लग्न खोजिएको यादवको आरोप रहेको छ । नागरिक टाइम्ससँगको कुरारानीमा उनले आफ्नो पार्टी विभाजन नहुने दाबी गरे ।
‘सरकारले ल्याएको अध्यादेशले हाम्रो पार्टी विभाजन हुँदैन। उनीहरुले कुनै मनसाय राखेरै अध्यादेश ल्याएको होला उनले भने -‘तर, त्यो समाजवादी पार्टीमा लागु हुने छैन ।’
अध्यादेश आएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र समाजवादी र राजपालाई विभाजन गर्न अध्यादेश आएको चर्चा भईरहेको छ ।
सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने उद्देश्यले अध्यादेश ल्याएको आरोप समेत यादवको रहेको छ ।
उनी भन्छन्, ‘दुई-चारजना सांसद खरिद गर्ने उद्देश्यले ल्याइएको होला, तर यो अध्यादेशले विभाजन होइन, राजपासँगको एकता निश्चित गरेको छ ।’
राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेशले कसैलाई फाइदा नगर्ने उनको भनाइ छ ।
‘एकदलीय कम्युनिष्ट सर्वसत्तावाद लाद्नका लागि अध्यादेश ल्याएको देखिन्छ’ यादवले भने, ‘अहिले हामीलाई लक्षित गरेर ल्याइएको होला, तर भोलि यसबाट नेकपा पनि अछुतो रहँदैन ।’
कोरोना कहरबाट जनताको प्राण रक्षा गर्नुपर्ने बेलामा सरकारले घीनलाग्दो काम गरेको यादवको भनाइ छ ।
सरकारले आजै कुनै राजनीतिक दल विभाजन हुन चाहेमा केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत समर्थन पु¥याउनु पर्ने अध्यादेश ल्याएको छ।
उक्त अध्यादेश प्रमाणीकरण भएर आजै राष्ट्रपतिबाट जारी समेत भइसकेको छ। अब राजपत्रमा प्रकाशित भएपछी उक्त अध्यादेश लागू हुनेछ ।