Logo
७ माघ २०८१, सोमबार
(April 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना त्रास : हुम्लामा गाउँ प्रवेश गरे ३० हजार जरिवाना, संक्रमण डरले पुल नै बन्द

कर्णाली प्रदेश स्थित हुम्ला जिल्लाको तल्लो क्षेत्रमा रहेको चंखेली गाउँपालिका वडा ५ नेप्का गाउँमा अनुमतिविना गाउँ प्रवेश गर्ने जो कोहीलाई रु ३० हजार जरिवाना तोकिएको छ ।

गाउँमा कोभिड–१९ को संक्रमण फैलिन नदिन वडा नं ५ कार्यालयले यस्तो निर्णय गरेको हो । छपन्न घरधुरी रहेको सो वडाले मुगु र हुम्ला जिल्लाको चंखेली सीमाबाट दैनिक हुम्ला प्रवेश गर्न थालेपछि नेप्का गाउँमा अनुमतिविना प्रवेश गर्नेलाई जरिवाना गर्ने निर्णय भएको वडाध्यक्ष भैरव तामाङले जानकारी दिए ।

सूचनाको पहुँच नभएकाले युवकलाई दैनिक पालो लगाएर बाटामै राख्ने गरिएको वडाध्यक्ष तामाङले बताए । लकडाउनको अवधिभर आआफ्नो घरमा सामाजिक दूरी कायम गरी सुरक्षित रुपमा बस्नसमेत निर्देशन दिइएको जनाइएको छ ।

संक्रमण डरले पुल नै बन्द

उत्तरी नाम्खा गाउँपालिका वडा नं ३ मा कोरोना भाइरसको संक्रमणको जोखिमबाट जोगिन स्थानीयवासीले टुक्सोखोल्मु पुल नै बन्द गरेका छन् ।

अपरिचित व्यक्तिलाई गाउँमा छिर्न नदिन पुल बन्द गरिएको हो । कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने भएकाले स्थानीय युवा पालो मिलाएर पुलमा २४ सै घण्टा खटिने गरेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए ।

वडा नं ३ को खगालगाउँ नजीकै टुक्सोखोल्मु पुल र लामाखोल्सीमा गाउँका युवा पालो मिलाएर खटिन्छन् ।
कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगिन गाउँपालिकाले आवतजावत रोक्नाका साथै लकडाउनको उल्लंघन गरी गाउँ प्रवेश गरे जरिवाना तिराउनेसमेत निर्णय गरेको छ ।

महिला खटिए

जिल्ला सदरमुकाम सिमकोट वडा नं ५ र ६ का महिला गाउँमा जो कोहीलाई प्रवेश गर्न नदिन खटिएका छन् ।
कोरोना संक्रमण डरले सिमकोट तल्लो गाउँ र माथिल्लो गाउँ भित्रने मुख्य नाकामा पालो हालेर बिहान ६ देखि राति १० बजेसम्म खटिने गरेको वडा नं ६ का कलशुरा रोकायाले बताए ।

प्रकाशित मिति: Apr 20, 2020

प्रतिक्रिया दिनुहोस्