सप्तरीमा दिल्लीबाट आएका २ जनाको आरडीटी रिपोर्ट पोजिटिभ, मस्जिदमा ११ भारतीय भेटिए
प्रदेश २ स्थित सप्तरीमा दिल्लीको निजामुद्धिनस्थित तबलिकी जमातमा सहभागी भई घर आएर बसेका ८ मध्ये दुई जनाको आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ आएको छ ।
गत मार्च ८ र ९ तारिखमा दिल्लीको निजामुद्धिनमा भएको तबलिकी जमातमा सहभागी भई आफ्नै घरमा बसिरहेका ७ जनालाई स्थानीय जनप्रतिनिधि र जिल्लास्थित उच्च संयन्त्रले सूचना पाएपछि घरबाटै परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो।
उनीहरुमध्ये ३ जना सप्तरीको खडग नगरपालिकाका तथा राजविराज नगरपालिका, सुरुङगा नगरपालिका र तिलाठी कोइलाडी, बिष्णुपुर र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका १-१ जना रहेका छन्।
१ जनाको अझै खोजी भइरहेको छ। ११ जना भारतीयलाई उक्त मस्जिदमै क्वारेन्टाइन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी आनन्दकुमार ठाकुरले बताए।
गजेन्द्रनारायण सिह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासका अनुसार मंगलबार गरिएको ७ जनाको र्यापिड डाइगनोस्टिक टेस्ट (आरडीटीं) मा दुई जनाको रिपोर्ट पोजिटिभ देखिएको छ।
अन्य ५ जनाको रिर्पोट नेगेटिभ आएको डा. दासले जनाए। रिपोर्ट पोजेटिभ देखिएकामध्ये एकजना तिलाठी कोईलाडी गाउँपालिकाका र अर्का खडग नगरपालिकाका भएको उनले जानकारी दिए।
पोजिटिभ देखिएकाहरुलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आईसोलेसनमा राखिएको छ भने बाँकी ५ जनालाई खडग नगरपालिकाको क्वारेन्टाइनमा पठाइने डा. दासले जनाए।
पोजिटिभ र नेगेटिभ रिपोर्ट आएकाहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ।
यसैबीच सप्तरीको डिमनस्थित मस्जिदमा ११ जना भारतीय भेटिएका छन्। उनीहरु लकडाउनभन्दा केही अघिबाटै उक्त मस्जिदमा बस्दै आएको र सबैजना भारतको इन्दौरका रहेको खुलेको छ।