जालिम मियाँ समेत भारतीय संक्रमितको सम्पर्कमा आएका सबैको ५९ जनाको रिपोर्ट नेगेटिभ
प्रदेश २ स्थित पर्साको वीरगन्जमा कोरोना संक्रमित तीन जनाको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरी आरडीटी (र्यापिड डायग्नोस्टिक टेस्ट) र थ्रोट स्वाब परीक्षण थालिएको छ। उनीहरु हाल क्वारेन्टाइनमा छन्।
वीरगन्ज महानगरपालिका-२ छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय नागरिकमा संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले छपकैया र आसपासका क्षेत्रलाई शिल गरी र्यापिड टेस्ट थालेको हो।
जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी ललितकुमार बस्नेतका अनुसार संक्रमितको सम्पर्कमा आएका र उनीहरुको उपचारमा संलग्न चिकित्सक गरी ५९ जनाको आरडीटी गरिएको छ। सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए।
सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहेका बस्नेतले बढी शंकास्पद देखिएका व्यक्तिको स्वाब संकलन र कम शंकास्पदको आरडीटी टेस्ट गरिएको जनाए। संक्रमित व्यक्तिको सम्पर्कमा आएका ३६ जनाको स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडा पठाइएको छ।
पछिल्लो समय भारतीय मिडियामा चर्चामा आएका जगरनाथपुर गाउँपालिकाका प्रमुख जालिम मियाँ र उनको परिवारको समेत स्वाब संकलन गरिएको सहायक प्रजिअ बस्नेतले बताए। ‘मुखियाको परिवारका १८ जना सदस्यको पनि स्वाब संकलन गरी परीक्षणका लागि पठाएका छौं,’ उनले भने।
यसैबीच, स्थानीय प्रशासनले क्वारेन्टाइनस्थल थपेको छ। ‘सिद्धार्थ माध्यमिक विद्यालयमा स्थान अभाव भएपछि वीरगन्जको आदर्शनगरमा रहेको कलवार धर्मशालामा ५२ बेडको नयाँ क्वारेन्टाइन निर्माण गरिएको हो। संक्रमित ३ जनाको सम्पर्कमा आएका १७ जनालाई सोही क्वारेन्टाइनमा राखिएको छ।
संक्रमित ३ जना नारायणी अस्पतालको आइसोलेसन वार्डमा छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्। ‘डब्लुएचओको प्रोटोकलबमोजिम उपचार भइरहेको छ। उनीहरुमा अहिले ज्वरो पनि छैन,’ अस्पतालका डा उदय नारायण सिंहले भने।
उनीहरुको अर्को चरणको परीक्षणका लागि मंगलबार थ्रोट स्वाब सकंलन गरिने उनले बताए। ‘जबसम्म संक्रमितमा कोभिड नेगेटिभ आउँदैन तबसम्म निश्चित समयावधिपछि स्वाब परीक्षण गरिराख्नुपर्छ,’ डा. सिंहले भने।