Logo
२ मंसिर २०८१, आईतबार
(April 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशको सिमा पुर्णरूपमा शील गरिन्छ, लकडाउन तत्काल हट्दैन, छुट्टै संयन्त्र चाहिँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड- १९) महामारी विरुद्ध लड्नका लागि लकडाउनको समय अवधि अझै थपिने संकेत गरेका छन् । उनले सरकार भन्दा भिन्न संयन्त्र आवश्यक नरहेको समेत प्रष्ट पारेका छन् ।

सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्समा कुरा गर्दै प्रधानमन्त्रीले सरकार स्वयंले बैधानिक अथोरिटीका साथ काम गरेको बताएका हुन् ।

उनले भने, ‘सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यकता छैन । सरकार स्वयंले अथोरिटीका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगरौं ।’

प्रधामनन्त्रीले लकडाउन छिट्टै अन्त्य नहुने समेत बताएका छन् । संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको भन्दै प्रधानमन्त्री ओलीले भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन नसक्ने बताए ।

उनले सीमामा अझ कडाइ गर्नुपर्ने भन्दै नरम बनेर लापरबाही नगर्न पनि मुख्यमन्त्रीहरुलाई आग्रह गरे । विहान साढे ११ देखि पौने चार बजेसम्म सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमत्रीले पालैपालो मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गरेका थिए ।

सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आआफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासहरुको जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

सरकारले लकडाउनको अवधि अझै लम्ब्याउने संकेत गरेको छ । कम्तिमा अर्को १० दिन लकडाउन लम्ब्याएर विस्तारै खुकुलो पार्ने गरी रणनीति तय गरेको बुझिएको छ ।

अबको १५ दिन कोभिड-१९ विरुद्ध निर्णायक लडाईं हुने
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अबको १५ दिन कोभिड-१९ विरुद्ध निर्णायक लडाईं हुने बताएका छन्  ।

उनले भने, ‘अब १०- १५ दिन भनेको लडाइँको एकदमै अन्तिम अवस्था हो । यसको लागि सबै एकजुट हुनैपर्छ । सबै मिलेर जानुपर्छ र मिल्नुपनि भएको छ ।’ उनको अभिव्यक्तिले पनि सरकार वैशाखको दोस्रो हप्तासम्म लकडाउन खोल्ने अवस्थामा नरहेको बुझ्न सकिन्छ ।

सरकारले पहिलो चरणमा घोषणा गरेको लकडाउन लम्ब्याएर ३ वैशाखसम्म पुर्याएको छ । अब यसलाई कम्तिमा १० दिन लम्ब्याएर कोरोना भाइरसको संक्रमण मुक्त अवस्था बनाउने लक्ष्य लिएको छ ।

पछिल्लो तथ्यांक अनुसार चार हजारभन्दा बढीको कोभिड १९ टेष्ट भइसकेको छ । रयापिट टेष्टहरु पनि नगर नगरमा भइरहेका छन् । यो क्रम अझै दुई हप्ता लाग्ने डा. देवकोटाको भनाई छ ।

यसपछि देशभर कोरोना भाइरसको संक्रमण नबढेमा सरकारले नयाँ कदम चाल्ने जानकारी दिए । उनले भने, ‘यो फेजको चेकजाँच सकिएपछि परिणाम हेरेर लकडाउन लम्ब्याउने, नलम्ब्याउने भन्ने त्यसपछिको रणनीति तय हुन्छ ।’

१० दिनभित्र रयापिट टेष्ट र शंकास्पद विरामीको टेष्ट सकिसक्ने गरी काम भइरहेको डा. देवकोटाले बताए । कतै कुनै कोरोना संक्रमित लुकेर बसेको छन् भने पनि पत्ता लगाउने गरी काम भइरहेको उनले बताए ।

अहिलेसम्म ९ जनामा मात्र कोरोना भाइरसको संक्रमित भेटिएकाले सरकार उत्साही छ । बितेको केही दिन नयाँ संक्रमित भेटिएका छैनन् । शंकास्पद विरामीलाई आइशोलेशनमा राखिएको छ । संक्रमितहरु उपचाररत छन् ।

उनीहरुलाई दुई हप्ताको साटो २१ दिन राखेर उपचार भइरहेको छ । नयाँ रोगी नभेटिएमा सरकारले लकडाउन खोलेर विदेशबाट आउनेहरुलाई कम्तिमा २१ दिन आइशोलेशनमा या क्वारेन्टाइनमा राखेर निगरानी गर्ने तयारी गरेको छ । विमानस्थल वैशाखभर बन्द गरेर भएपनि आन्तरिक रुपमा कोरोनाको संक्रमण मुक्त अवस्था सृजना गरिने गरी तयारी भएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति: Apr 11, 2020

प्रतिक्रिया दिनुहोस्