राष्ट्रपति र प्रधानमन्त्रीद्वारा बेलायती प्रधानमन्त्रीलाई स्वास्थलाभको कामना
राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानीलाई बिहीबार एक सन्देश पठाई कोरोना भाइरसको उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।
उक्त सन्देशमा बेलायतमा रहेका समस्त नेपालीहरुको संरक्षण हुने विश्वास पनि व्यक्त गरेकी हुन् । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले बेग्लै सन्देश पठाई प्रधानमन्त्री जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै ‘उहाँ कोरोनाविरुद्धको लडाइँमा बेलायतको नेतृत्व गर्न सक्षम हुनुहुने’ विश्वास व्यक्त गरेका छन् ।
गत बिहीबार बेलायत सरकारका परराष्ट्र राज्यमन्त्री लर्ड अहमदले नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग टेलिफोन संवाद गरी नेपालमा रहेका बेलायती नागरिकको सुरक्षा तथा फिर्तीसम्बन्धी विषयमा कुरा गरेका थिए ।
उक्त अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले बेलायतमा रहेका नेपालीको सुरक्षा तथा विद्यार्थीको समस्याबारेमा अवगत गराएका थिए ।
परराष्ट्रमन्त्री ज्ञवालीले नेपालमा बिदामा रहेका भूतपूर्व गोर्खा र तिनका परिवारका विषयमा समेत कुरा उठाउनुभएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
यसैबीच, पर्वतको महाशिला गाउँपालिकास्थित भोक्सिङ देउराली घर भई हाल बेलायतको नटिटन शहरमा रहेका ५६ वर्षीय मेखबहादुर गुरुङको कोरोना भाइरसका बुधबार कारण मृत्यु भएको छ ।
उनी भूपु गोर्खा सैनिक थिए ।