प्रहरीको स्कर्टिङमा उपत्यका छाड्नेलाई सम्बन्धित स्थानसम्म सरकारले पुऱ्याइदिने
खासगरी मजदुरवर्ग जो लकडाउनका कारण राजधानीबाहिर घर जान नपाएकाहरूलाई शुक्रबार र शनिबार अर्थात (२८–२९ चैत) गरी २ दिन सम्बन्धित स्थानमा सरकारले नै पुऱ्याइदिने भएको छ ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले व्यवस्था गर्ने सवारीसाधनहरू भोलि र पर्सि उपलब्ध हुनेछन् ।
‘उपत्यकाबाहिर जान चाहनेहरूलाई सरकारले नै यातायातको साधन उपलब्ध गराएर जाने व्यवस्था गर्ने निर्णय आजको बैठकले गरेको छ,’ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले भने, ‘उपत्यकाबाहिर जाने सवारीसाधनहरूलाई प्रहरीले स्कर्टिङ गर्नेछ ।’
‘खासगरी श्रमिक वर्गका मानिसलाई सहज होस् भनेर यो निर्णय गरिएको हो,’ श्रेष्ठले भने, ‘अहिलेका लागि उपत्यकाबाहिर जान पाइन्छ, अर्को व्यवस्था नभएसम्मका लागि आउन पाइनेछैन ।’