३ देखि ५ हजारमा पाइने कोरोना टेस्ट गर्ने मेसिनलाई १६ हजारमा बिक्री गर्ने अग्रवाल पक्राउ
विश्व बजारमा ३ देखि ५ हजारमा पाइने कोरोना टेस्ट गर्ने इन्फारेड थर्मल गनलाई १६ हजारमा बिक्री गर्ने जगदम्बा ग्रुपका सुलभ अग्रवाल पक्राउ परेका छन् ।
अग्रवालले कूटनीतिक नम्बर प्लेटको गाडीमा मेडिकल उपकरण पाँच गुणा महंगोमा बिक्री गर्दैआएका थिए । उनले किर्गिस्तानको बाणिज्यदूत भएको दाबी गरिरहेका छन् ।
बाणिज्यदूतको आवरणमा महामारीमा कालोबजारी गर्ने उनलाई एसएसपी सहकुल थापाको टिमले पक्राउ गरेको हो ।
कोरोना भाइरसको महामारीका बेला मेडिकल उपकरणमा कालोबजारी गर्ने नेपाल उद्योग परिसंघ(सीएनआइ)का उपाध्यक्ष तथा जगदम्बा ग्रुपका संचालक समेत रहेका अग्रवाल पक्राउ परेका हुन् ।
जगदम्बा ग्रुप अन्तर्गत जगदम्वा स्टिल र जगदम्वा सिमेन्ट सन्चालित छन्। अग्रवाललाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले वताए।
अग्रवालले किर्किस्तानको महाबाणिज्यदूतका रुपमा निलो प्लेटको गाडी प्रयोग गर्दैआएका थिए । उनले केही दिनअघि नेपाल वायुसेवा निगमको जहाज चार्टर गरी कोरोना भाइरस संक्रमण भए नभएको पत्ता लगाउने इन्फारेड थर्मल गन र एन ९५ मास्क लगायतका मेडिकल सामग्री ल्याएका थिए ।
ती सामग्रीमध्ये इन्फारेड थर्मल गन ६० हजार पीस ल्याएका थिए । इन्फारेड थर्मल गनको बजारमूल्य ३ देखि ५ हजार रुपैयाँ पर्न आउँछ । त्यसमा जहाज भाडा जोड्दा ७ हजार रुपैयाँ हुनसक्छ ।
तर १६ हजार रुपैयाँमा बिक्री गर्दैआएका थिए । कूटनीतिक नियोगको नम्बर प्लेट भएको किर्गिस्तानको बाणिज्यदूतका गाडीमा राखेर उनले थर्मल गन कालोबजारी गर्दैआएएको खुलेको छ । अग्रवालबाट १६ हजारमा लिएर त्रिपुरेश्वरका तिरुपति, कृष्ण इन्टरप्राइजेज र विशाल सर्जिकलले २० हजार रुपैयाँसम्ममा थर्मल गन बिक्री गर्दैआएका थिए ।
एन ९५ मास्कको बढीमा ३ सय पर्ने भए पनि अग्रवालले ७ सय रुपैयाँमा बिक्री गर्दैआएको सूचनाका आधारमा प्रहरीले उनको निगरानी गरेको थियो । अपराध महाशाखाका प्रहरीले ग्राहकको भेषमा अग्रवालसँग सम्पर्क गरेका थिए । उनले सुरुमा १ सय पिसमात्र रहेको बताए ।
पछि डेढ सय पीस थर्मल दिन तयार भए प्रतिथान १६ हजार रुपैयाँमा । अपराध महाशाखाको टोलीले पैसा लिएर जाँदा उनी कूटनीतिक नियोगका ब्यक्तिले प्रयोग गर्ने २०९ एचसीसी १ गाडीमा आए ।
र, थर्मल गन सोही गाडीबाट निकालेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।