गण्डकी प्रदेश सरकारद्वारा कोरोना सुरक्षा परिचालनका लागि बजेट निकासा गर्दै
गण्डकी प्रदेश सरकारले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनको काममा सुरक्षा संयन्त्र परिचालनका लागि १ करोड ४५ लाख बजेट निकासा गर्ने भएको छ ।
प्रदेश सरकारको सोमबारको मन्त्रिपरिषद् बैठकले प्रदेशका सबै सुरक्षा संयन्त्र परिचालन, अनुगमन, मसलन्द र गाडी मर्मतका लागि ११ वटै जिल्ला प्रशासनलाई बजेट निकासाको निर्णय गरेको सो सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताएका छन् ।
बैठकले गण्डकीका मनाङ र मुस्ताङलाई ५ लाखका दरले र अन्य नौ जिल्लाका जिल्ला प्रशासनलाई १५ लाखका दरले बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।
पोखरामा २०० मुस्ताङ्गे अलपत्र
चिसो छल्न र व्यापार गर्न हिउँदमा पोखरा, काठमाडौँ र तराई झरेका २०० मुस्ताङ्गेहरु हाल पोखरामा अलपत्र परेका छन् । उपल्लो मुस्ताङका स्थानीवासी छ महिना घरमै बस्छन् । बाँकी छ महिना चिसो छल्न बेँसी झर्छन् ।
अलपत्र परेकामध्ये उपल्लो मुस्ताङ लोमानथाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको स्थानीयवासी रहेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले बताए । उनीहरु कोही आफ्नै घरमा त कोही आफन्तको घरमा रहेको अर्यालले बताए ।
गाउँमा खेती रोप्ने समय आइसकेको हुनाले पोखरामा अलपत्र रूपमा बस्दा यस वर्षको बाली बाँझो रहने चिन्ता गर्दछन् थासाङ गाउँपालिका–२ नाउरीकोटका ७२ वर्षकी भीमकुमारी गौचन ।
उनका अनुसार यो बेला बीउ छर्न बेला हो, बाली लगाउन नपाए वर्षभरि खेत बाँझो रहने बताए । मुस्ताङको धेरै भेगमा वर्षमा एक बाली र केही क्षेत्रमा दुई बाली मात्र हुने गर्छन् ।
नेपालमा कोरोना भाइरसको उच्च जोखिम देखाउँदै सरकारले पटक–पटक लकडाउन बढाउनाले उनीहरु बेलैमा गाउँ फर्काउन नसकेको मुस्ताङका सङ्घीय सांसद् प्रेमप्रसाद तुलाचनले जनाकारी दिए ।