निजामुद्दिन भेलाका सहभागी १ नेपालीमा कोरोना संक्रमण, २० भन्दा बढीको रिपोर्ट आउन बाँकी
छिमेकी देश भारतको राजधानी नयाँदिल्लीको निजामुद्दिनमा हालै सम्पन्न मुस्लिम धार्मिक भेलामा सहभागी एक नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको पुष्टि भएको छ ।
भने उक्त कार्यक्रममा सहभागी भएका २० भन्दा बढीको रिपोर्ट आउन अझै बाँकी रहेको छ । सहभागी भएका प्रदेश २ स्थित पर्सा निवासी ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनी दुई साताअघि मात्र हरियाणाको अम्बाला पुगेका थिए ।
कोरोना देखिएका उनलाई हाल अम्बाला केन्ट अस्पतालको आइसोलेसनमा राखिएको छ । र, उनको स्वास्थ्य अवस्था सामान्य रहेको अम्बाला जिल्लाका प्रमुख स्वास्थ्य अधिकृत डा. कुलदिप सिंहले जानकारी दिए । ‘अरु कुनै समस्या नभएकाले रिपोर्ट पोजिटिभ आए पनि उनको स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने ।
‘अहिले हामीलाई २० जनाको सूची प्राप्त भएको छ तर, यो संख्या बढ्ने सम्भावना छ’ दूतावासका नियोग उपप्रमुख भरतकुमार रेग्मीले बताए। नेपालीहरुको स्वास्थ्य परीक्षणको विवरण भने प्राप्त हुन बाँकी नै रहेको छ। रेग्मीका अनुसार नेपालीहरुको स्वास्थ्य परीक्षण गरिएको तर, रिपोर्ट भने आइनसकेको बताए।
भेलामा ठ्याक्कै कति नेपाली सहभागी थिए भन्ने अझै यकिन हुन सकेको छैन । दिल्लीस्थित नेपाली दूतावासले भने भेलामा २० जना नेपाली सहभागी रहेको जनाएको छ । त्यसबाहेक निजामुद्दिनकै मदरसामा अध्ययनरत १३ जना विद्यार्थी भेलामा सहभागी रहेको बताइएको छ । हाल उनीहरु सबैलाई हरियाणाको नरेलामा क्वारेन्टाइनमा राखिएको छ । र, उनीहरुमा हालसम्म कोरोनाको लक्षण देखिएको छैन ।
दुई साताअघि दिल्लीको निजामुद्दिनको बेंगलवाली मस्जिदमा रहेको मरकज (केन्द) मा मुस्लिम धर्मावलम्बीहरुमध्येको तबलिगी समुदायको अन्तर्राष्ट्रिय भेला (जमात) आयोजना गरिएको थियो ।
५ मार्चदेखि १३ मार्चसम्म चलेको उक्त भेलामा भारतीय र विदेशीगरी चारह जारभन्दा बढीको सहभागिता रहेको बताइएको छ । तिनीहरुमध्ये एक हजार पाँच सयभन्दा बढी २४ मार्चअघि नै हिँडिसके पनि देशव्यापी लकडाउनका कारण हजारभन्दा बढी त्यहीँ रोकिएका थिए ।
तर, भेलामा सहभागी भएकाहरुमध्ये दिल्लीका २४ जनामा कोरोना देखिएपछि स्थानीय प्रशासनले त्यहाँ रहेका सबैलाई बाहिर निकालेको थियो । जसमध्ये एक हजार ८ सय जनालाई क्वरन्टाइनमा पठाइएको थियो । साथै भारत सरकारले भेलाका स्वदेशी र विदेशी सबै साहभागीको खोजी सुरु गरेको थियो ।
भेलाका अन्य दश जना सहभागीसहित उनी हरियाणाको अम्बालाको महेशनगरस्थित मस्जिदमा बस्दै आएका थिए । उनीहरु दुई साताअघि बंगेलवाली मस्जिदमा भएको तबलिगी समुदायको अन्तर्राष्ट्रिय भेलामा सहभागी थिए । अम्बाला पुगेका सबै नेपाली पर्सा जिल्ला रहेका छन् ।
दिल्ली, आन्ध्र प्रदेश, तमिलनाडु, तेलांगनामा विगत केही दिनयता पहिचान भएका कोरोना संक्रमित सबैजसो तबलिगी भेलाका सहभागी भएको खुले छि भारतको गृहमन्त्रालय र मातहतका निकायले उक्त भेलाका सबै सहभागीहरुको खोजीलाई तीव्रता दिएको थियो ।
त्यही क्रममा प्रहरीले महेशनगरको मस्जिदमा छापा मारेपछि त्यहाँ नेपाली आठ, श्रीलंकाका एक र बाँकी दुई जना भारतकै राजस्थान र आसामका नागरिक बस्दै आएको खुलेको थियो । त्यसपछि उनीहरु सबैलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको थियो ।
विगत केही दिनयता पुष्टि भएका कोरोना केसहरुमध्ये अधिकांशको तार निजामुद्दिन भेला जोडिएकाले नरेन्द्र मोदी सरकारका लागि कोरोना महामारी नियन्त्रण ठूलो टाउको दुखाइ बनेको छ । भारतको स्वास्थ्य मन्त्रालयले हालसम्म पहिचान भएका २ हजार ६ सयभन्दा बढी कोरोना संक्रमितमध्ये ६४७ को सम्बन्ध त्यो भेलासँग जोडिएको दाबी गरेको छ । पछिल्लो चार दिनमा मात्र भारतमा १२ सयभन्दा बढी नयाँ केस देखिएका छन् ।
त्यसमध्ये एक चौथाइको केसको तार निजामुद्दिन भेलासँग जोडिएको दाबी भारतीय अधिकारीहरुले गरेका छन् । त्यसैगरी भारतका १८ राज्यहरुमा पहिचान भएका संक्रमितहरुको सम्पर्क दिल्लीको तबलिगी जमातसँग रहेको दाबीसमेत मन्त्रालयको छ । भारतमा हालसम्म कोरोनाका संक्रमणबाट ६२ जनाको मृत्यु भएको छ भने १६३ जना उपचारपछि निको भइसकेका छन् ।