कोरोना भाइरसका कारण सिंगो धर्ती युद्ध मैदान जस्तै : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसका कारण सिंगो धर्ती युद्ध मैदान जस्तै भएको बताएकि छन् । उनले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको लडाइँमा सरकारलाई साथ दिन सबैलाई अपिल गरेकी हुन् ।
कोरोना भाइरसका कारण सिंगो धर्ती युद्ध मैदान जस्तै भएको भन्दै उनले यो लडाइँमा मानवजाति विजयी हुने विश्वास व्यक्त गरिन् ।
शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘कुनै भावनामा नबगी कोरोना भाइरसको गाम्भीर्यलाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन अपिल गर्छु ।’
संसारका सबैजसो मुलुकमा फैलिइरहेको यस महामारीबाट नेपाल अछुतो रहननसके पनि सरकारले लिएका नीति र चालेका कदम प्रभावकारी भएकाले नै संक्रमण फैलन नपाएको उनले बताइन् ।
राष्ट्रपति भण्डारीले हाम्रो संयमताले नै सिंगो समाज र राष्ट्रलाई कोरोना भाइरसबाट जोगाउन सकिने भएकाले सबैले यस पक्षमा ध्यानदिनु अति आवश्यक रहेको बताइन् ।
महामारीका बेलामा सबैभन्दा जोखिमयुक्त अग्रमोर्चामा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीलगायतको उनले प्रशंसा गरिन्। उनले भनिन्, ‘तपाईंहरूको साथमा राज्य छ र आमजनताको गहिरो शुभेच्छा सधैं रहिरहनेछ ।’
कोरोना भाइरसका कारण सिंगो धर्ती युद्ध मैदान जस्तै भएको महसुस हुन्छ भन्दै राष्ट्रपति भण्डारीले कोरोना भाइरसविरुद्धको यो लडाइँमा मानवजाति विजय हुने विश्वास व्यक्त गरिन्।
उनले कोरोनाबाट संक्रमित भई उपचाररत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छिन् ।
यस महामारीविरुद्धको लडाइँमा सक्दो योगदान गर्न सम्पूर्ण राजनीतिक दल, उद्योगपति, व्यापारी, विज्ञ, सञ्चारकर्मी, स्थानीय समुदाय एवं स्वयंसेवी संस्थालाई उनले आह्वान गरेकी छन् ।
यस विश्वव्यापी महामारीका समयमा संसारका विभिन्न मुलुकमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई आ-आफ्नो ठाउँमा आवश्यक सतर्कतासहित सुरक्षित रहन राष्ट्रपतिले आह्वान गरिन् ।
पूरै देश लकडाउन गर्नुपर्ने परिस्थितिले हाम्रो अर्थतन्त्रलाई पनि प्रतिकूल प्रभाव पारेको र दैनिक ज्यालादारीबाट आफ्नो जीवनयापन गर्ने श्रमजीवी सबैभन्दा बढी प्रभावित हुने अवस्था उत्पन्न भएको भन्दै उनले प्रभावितहरुका लागि सरकारले राहत प्याकेज घोषणासमेत गरिसकेको उल्लेख गरिन्।