Logo
४ आश्विन २०८१, शुक्रबार
(March 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्घाखाँची जिल्ला ‘लक डाउन’

सोमबारबाट अर्घाखाँची जिल्ला ‘लक डाउन’ भएको छ ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सोमबार बसेको सर्वपक्षीय बैठकले नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्मका लागि जिल्लालाई ‘लक डाउन’ गर्ने निर्णय गरेको हो ।

अन्य जिल्लाबाट अर्घाखाँची जिल्लामा प्रवेश गर्ने मालबाहक गाडी बाहेक अन्य सार्वजनिक निजी सवारी साधन र मोटरसाइकलको आवतजावत सोमबार राति १२ बजेदेखि पूर्णरुपमा प्रतिबन्ध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

मालबाहक सवारी साधनका चालक र सहचालकको हेल्थ डेस्कमा अनिवार्य स्वास्थ्य परीक्षण गरेर मात्र जिल्ला प्रवेश गर्न दिने, खाद्यान्न, ग्याँस, तेल, फलफूल पसल प्रत्येक बिहान १० देखि २ बजेसम्म मात्र खुला गर्ने, दूध डेरी, सागसब्जी पसल बिहान ६ देखि ९ र बेलुका ४ देखि ७ सम्म मात्र खुला गर्ने निर्णय गरिएको छ ।

साथै ठेला गाडामा सञ्चालित व्यवसायमा अर्को सूचना नभएसम्म प्रतिबन्ध लगाइएको छ । अस्पताल, औषधि पसल र पेट्रोल पम्प भने २४ सै घन्टा खुला रहने निर्णय भएको छ ।

बैठकमा जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु, संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: Mar 23, 2020

प्रतिक्रिया दिनुहोस्