नेपाल एयरलाइन्सले गर्यो भारतका सबै शहरको उडान बन्द
नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले अब भारतको नयाँदिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको नियमित उडान चैत्र ९ (मार्च २२,२०२०) गतेदेखि लागु हुने गरी स्थगित गरेको छ ।
यसअघि भारतले २२ तारीखबाट सबै अन्तर्राष्ट्रिय वायुसेवालाई भारतमा प्रवेश रोक्ने निर्णय गरेको थियो । सोही अनुसार नेपाल एयरलाइन्सले भारतीय शहरमा गरिरहेको उडान रोक्ने निर्णय लिएको हो ।
चैत्र ९ गतेदेखि उडान स्थगित गरिएको अवधिभरका लागि टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने भएको छ ।
यसअघि नेपाल एयरलाइन्सले दिल्ली उडान घटाएको थियो । पछिल्लो निर्णयसँगै निगमका अधिकांश उडान रद्द भएका छन् ।