भोलिदेखि अनिश्चित कालका लागि चिडियाखाना पनि बन्द, बाल मनोरञ्जन केन्द्रहरु सुनसान
कोरोनाको त्रासका कारण ललितपुरमा रहेको सदर चिडियाखाना अनिश्चित कालको लागि बन्द गरिएको छ । शुक्रबारदेखि लागु हुने गरी चिडियाखाना बन्द गरिएको चिडियाखानाका प्रमुख चिरञ्जीवी पोखरेलले जानकारी दिए ।
पौडेलले बुधबार सरकारले गरेको निर्णय र कोरोना भाइरसको बढ्दो महामारीलाई लक्षित गर्दै धेरै भीड नियन्त्रणको लागि चिडियाखाना बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।
चिडियाखाना प्रशासनका अनुसार शनिबार ६ हजारको हाराहारीमा अवलोकनकर्ताहरु आउने गरेकोमा गत शनिबार २१ सयले मात्रै चिडियाखाना अनवलोकन गरेका थिए ।
अरु दिन हरेक दिन १७ सय देखि दुईहजारको हाराहारीमा दैनिक अवलोकनकर्ताहरु आउनेमा अहिले ५ सयको हाराहारीमा मात्रै अवलोकनकर्ताहरु आउने गरेको पोखरेलले जानकारी दिए ।
त्यस्तै, बालबालिकाको मनोरञ्जनको लागि खुलेका काठमाडौंका अरु बाल मनोरञ्जन केन्द्रहरु समेत यतिबेला सुनसान बनेका छन् ।
सरकारले कोरोना संक्रमणको सम्भावित असरलाई ध्यान दिँदै २५ जनाभन्दा धेरै एकै ठाउँमा भेला नहुन र अत्यावश्यकबाहेक बाहिर ननिस्कन आग्रह गरेपछि यी केन्द्रहरु सुनसान बनेको हो ।
ती केन्द्रहरु बन्द गरिएको छैन तर, अभिभावकहरुले स्वतस्फूर्त बच्चालाई ती केन्द्रमा लैजान छाडेका मनोरञ्जन केन्द्रका सञ्चालकहरु बताउँछन् ।
विद्यालय तहको परीक्षा बुधबार सकिएपछि बिहीबार काठमाडौंको चक्रपथ भित्रका केही बाल मनोरञ्जन केन्द्रहरुमा पुग्दा ती सबै सुनसान प्रायः थिए ।
ललितपुरको सदर चिडियाखानामा भने छिट्टपुट्ट अवलोकनकर्ताहरु देखिन्थे । तर, समग्रमा भन्दा बुधबारको सरकारको आग्रहका कारण बाल मनोरञ्जन केन्द्रहरु सुनसान बन्न पुगेको छ ।
सरकारको सो निर्णय पछि काठमाडौंको भृकुटीमण्डपमा रहेको काठमाडौं फन पार्कले बिहीबार कसैलाई पनि प्रवेश गराएन । बिहीबार नै बैठक बसेर बन्द गर्ने वा खुल्ला राख्ने भन्ने विषयमा छलफल गरेको थियो ।
काठमाडौं फन पार्क कार्यालय प्रशासनका अनुसार फनपार्क बन्द गर्ने निर्णय भने भएको छैन । बिहीबार सरसफाइको लागि भनेर आएका ग्राहकहरुलाई फिर्ता पठाइएको छ ।
बन्द गर्ने निर्णय नै नगरिएको भएपनि ग्राहकहरु शून्यप्रायः रहेको फनपार्क कार्यालयले जनाएको छ । त्यस्तै, काठमाडौंको सिभिल मलमा रहेको द फन स्टेसन पनि बच्चाहरुको मनोरञ्जनको लागि खुलेको हो ।
त्यो स्टेसन पनि बन्द गर्ने निर्णय त भएको छैन । तर, त्यहाँ समेत बिहीबार दिनभरीमा एक जना पनि कार्यालयमा नआएको स्टेसनका अधिकारीहरु बताउँछन् ।
उनीहरुका अनुसार गत शनिबारदेखि नै त्यहाँ मनोरञ्जनको लागि आउनेहरु कम हुँदै थिए । तर, बुधबार सरकारले नयाँ आग्रह गरिसकेपछि भने अवलोकनकर्ताहरु आउनै ठप्प भएको बताउँछन् ।