ढुक्क हुनुस् : नेपाल सरकार भन्छ-‘सयौंको परीक्षण भयो, तर कसैमा कोरोना भेटिएन’
सरकारले नेपालमा कोरोना संक्रमित नरहेको दावी गरेको छ। सरकारले बुधबार केही घण्टाको विचमा लगातार कोरोना केन्द्रित ठुला निर्णय गरेपछि कतै कोरोना भित्रि सकेको पो हो की भन्ने आशंका गरिएको थियो।
तर स्वास्थ्य मन्त्रालयका सचिव नारायणप्रसाद बिडारीले भने, ‘ हालसम्म पाँच सय जनाको परिक्षण भयो तर कसैमा पनि पोजेटिभ भेटिन।’ कोरोना संक्रमणको परिक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हुने गरेको छ।
यसअघि चीनबाट फर्किएका एक व्यक्तिमा कोरोना संक्रमण भएको पाइएपनि उनी निको भइसकेका छन्। कोरोना नियन्त्रण तथा रोकथामका लागि शैक्षिक क्रियाकलाप पनि बन्द गरिएको छ।
सरकारले कोरोना नियन्त्रणका लागि अधिकांश विदेशी नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाइसकेको छ भने २५ जनाभन्दा बढी जम्मा नहुन पनि निर्देशन दिएको छ।
सरकारले पाँच ठाउँमा खाद्यान्न पसल खाेल्ने
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उपत्यकाका विभिन्न पाँच ठाउँमा खाद्यान्न पसल खोल्ने बताएका छन्। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को त्रास बढ्दै गएपछि नेपालमा त्यसको अवस्थाको बारेमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले यस्तो बताएका हुन्।
मन्त्री भट्टले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक–दुई दिनमै काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा खाद्यान्न पसल खोल्न लागेको जानकारी दिए।
मन्त्री भट्टले ४ देखि ६ महिनासम्मका लागि पर्याप्त खाद्यान्न रहेको बताए। नुन १० महिना, चिनी ३ महिना र औषधि ८ महिनालाई पुग्ने मन्त्री भट्टको भनाइ छ।
बजारमा ग्याँसकाे अभाव भएकाे गुनासाे बढिरहेका बेला मन्त्री भट्टले मागभन्दा बढी ग्याँस आपूर्ति भइरहेकाे दावी गरे। कालोवजारी गर्नेहरुलाई कारबाही गरी हालसम्म ५६ लाख ३० हजार रुपैयाँ संकलन भएको मन्त्री भट्टले जानकारी दिए।
कालोवजारी ऐन अनुसार यसमा संलग्नहरुलाई हदैसम्मको कारबाही गरिने मन्त्री भट्टकाे भनाइ छ।