Logo
४ आश्विन २०८१, शुक्रबार
(March 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको प्रभाव : संसदीय समिति बैठक स्थगित

२५ जनाभन्दा बढी सहभागी हुने भएपछि राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थागित गरिएको छ । समिति सभापति शशी श्रेष्ठले सरकारले जारी गरेको निर्देशन अनुसार २५ भन्दा बढी भेला हुन नपाइने तर, बैठकमा त्यो भन्दा बढी सहभागी भएको भन्दै बैठक स्थगित गरेकी हुन ।

बिहीबार सिंहदरवारमा बसेको बैठकमा ४० जना बढी सहभागी थिए । करिब ४५ मिनेट बैठक बसेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसकी सचेतक पुष्पा भुसार, नेकपा सांसद विन्दा पाण्डेलगायतले सरकारले जारी गरेको २५ जना भन्दा बढी एकै स्थानमा भेला हुन नपाइने निर्देशन सभापति श्रेष्ठलाई सम्झाएका थिए । त्यसपछि सभापति श्रेष्ठले बैठक स्थगित गरेकी हुन ।

समिति बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले दर्ता गरेको संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७५, माथि छलफल गर्ने कार्यसूची थियो ।

सरकारले कोरोना भाइरसबाट बच्न भन्दै बुधबार २५ जनाभन्दा बढी भेला नहुन भनेर निर्देशन जारी गरेको थियो । त्यो निर्देशनको पालना राज्य व्यवस्था तथा सुशासन समितिले गरेको हो ।

तर, राष्ट्रिय सभा बैठक बिहीबार १ बजे बस्दैछ । प्रतिनिधिसभा बैठक शुक्रबारका लागि बोलाइएको छ । संसदका विधायन व्यवस्थापन समिति, कानुन न्याय तथा मानव अधिकार समिति, अर्थ समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका बैठक भने बिहीबार बसेका थिए ।

प्रकाशित मिति: Mar 19, 2020

प्रतिक्रिया दिनुहोस्