प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि आज मतदान हुँदै
प्रदेश नं २ को स्थायी राजधानी र नामकरणका लागि आज मंगलबार प्रदेशसभामा मतादान हुँदै छ । त्यसका लागि प्रदेश सभाको बैठक बिहान ८ बजे नै बोलाइएको छ ।
नाम र राजधानीका लागि प्रदेशसभाका सांसदले गोप्य मतदान गर्ने र त्यसअघि छलफल गर्ने तयारी रहेको प्रदेश २ का सभामुख सरोजकुमार यादवले जानकारी दिएका छन् ।
मतदान सुरु हुनुअघि सांसदहरुलाई बोल्न दिइने उनले बताए । बोल्न चाहने सांसदलाई ५ मिनेटको समय उपलब्ध गराइनेछ । प्रदेशसभामा नामाकरणसम्बन्धी तीन वटा प्रस्ताव दर्ता भएका छन् ।
सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम मधेश राख्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् । यस्तै नेकपाले प्रदेशको नाम जानकी राख्नुपर्ने प्रस्ताव गरेको छ भने काङ्ग्रेसले मिथिला राख्नुपर्ने प्रस्ताव दर्ता गराएको छ ।
प्रदेशको राजधानी भने जनकपुरधामलाई बनाउनुपर्नेमा सबै दलको सहमति छ ।यद्यपि वीरगञ्ज आसपासका केही सांसदले वीरगञ्जलाई राजधानी बनाउनुपर्ने प्रस्ताव दर्ता गराएका छन् ।
नाम र राजधानी तोक्न दुई तिहाइ बहुमत आवश्यक भए पनि यो कुनै दलसँग छैन ।यसअघि नाम र राजधानी सहमतिमै टुङ्गो लगाउन र प्रस्तावमाथि छलफल गर्न सभामुख सरोजकुमार यादवको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिए पनि दलहरुबीच सहमति हुन नसक्दा मतदान हुन लागेको हो ।
प्रदेश २ मा १ सय ७ जना सांसद रहेकोमा सङ्घीय समाजवादी पार्टीका ३०, राजपा नेपालका २५, नेकपाका ३२, काँग्रेसका १९ सांसद छन् ।