खानेपानी योजना निर्माण ३० वर्षपछि मात्रै जारि हुँदै
मालिकार्जुन गाउँपालिका–२ मा ३० वर्षपछि बृहत् खानेपानी तथा सरसफाइ योजना शुरु भएको छ । गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना अन्तर्गत भगवती खानेपानी तथा सरसफाइ योजना सुरु गरिएको छ ।
वर्षौंदेखि खानेपानी समस्या झेल्दै आएका बस्तीका लागि खानेपानी योजना सुरु गरिएको छ । भगवती खानेपानी तथा सरसफाइ योजनाअन्तर्गत सिराड बस्ती र ठिङ बस्तीका गरी १६९ घरधुरीमा खानेपानी पहुँच पुर्याउने उद्देश्यले योजना सुरु गरिएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका सहयोगी संस्था सामुदायिक ग्रामीण विकास समाज नेपालका फिल्ड संयोजक रवीन्द्रसिंह धामीले जानकारी दिए।
गाउँमा खानेपानी तथा सरसफाइमा सुधार हुने भएपछि स्थानीयवासीले जनश्रमदानमा समेत उल्लेखनीय सहभागिता देखाएको कार्यक्रमका फिल्ड संयोजक धामीले बताए । खानेपानी योजना आगामी २०७८ जेठमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
यो गाउँमा २०४६ सालमा खानेपानी योजना निर्माण गरिएको थियो । त्यसता खानेपानी योजना मर्मतसम्भार हुन नसकी गाउँमा पानी अभाव हुन थालेपछि ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना मार्फत खानेपानी योजना निर्माण भइरहेको उनले बताए ।
योजना निर्माणका लागि नेपाल सरकारको रु पाँच लाख ९९ हजार ५६८, फिनल्यान्ड र युरापेली युनियनको रु ३१ लाख ४७ हजार ७३३, गाउँपालिकाको ७८ लाख ६ हजार ८७९ र उपभोक्ताको श्रम लगानी ४० लाख ५९ हजार ५७७ गरी कूल रु एक करोड ५६ लाख १३ हजार ७५९ लागतमा खानेपानी तथा सरसफाइ योजना निर्माण हुन लागेको हो ।