Logo
४ आश्विन २०८१, शुक्रबार
(March 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा सांसदको शंका : गोकुल बाँस्कोटाको घरमा बम विस्फोट प्रहरीले गरायो

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा भएको बम बिस्फोटमा प्रहरीमाथि नै आशंका गरेका छन् । उनले यस विषयमा उच्चस्तरीय छानबिन गर्न माग गरेका छन् ।

भक्तपुरको मनहराफाँटस्थित बाँस्कोटाको घरमा बुधबार विप्लव समूहले बम बिस्फोट गराएको थियो । तर, बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका अधिकारीले प्रहरीमाथि नै शंका व्यक्त गरेका हुन् ।

सांसद अधिकारीले भने, ‘माननीय सदस्य गोकुल बास्कोटाको घरमा बिस्फोट भएको छ । हामीलाई पूर्वअनुमान थियो प्रहरीले भन्छ । पुिलसलाई पूर्वअनुमान थियो भने को–को संलग्न छन् ? या पुलिस नै त त्यहाँ छैन संलग्न ? त्योसमेत छानविन गरी अपराधीलाई सख्त कारबाही गर्न माग गर्दछु ।’

बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ घर भई हाल लोकन्थलीको सुकुम्बासी बस्तीमा बस्दै आएका ५८ वर्षीय देव भन्ने देवीबहादुर गुरुङलाई पक्राउ गरेको हाे । प्रहरीले प्रेसर कुकर, तार, चन्दा रसिद, पर्चा र पम्प्लेट बरामद गरेको छ ।

घटनामा पूर्वमन्त्री बाँस्कोटाकोसहित अन्य तीन घरमा क्षति पुगेको छ। पूर्वमन्त्री बाँस्कोटाको घरको पर्खालभित्र प्रेसर कुकर बम राखिएको र रिमोट कन्ट्रोलबाट बम विस्फोट गराएको प्रारम्भिक अनुसन्धामा पाइएको छ ।

प्रकाशित मिति: Mar 12, 2020

प्रतिक्रिया दिनुहोस्