राष्ट्र बैंकबाट चिरन्जिवी नेपालले विदा लिर्दै, नयाँ गभर्नर छनौटको प्रक्रिया अघि नै बढेन
नेपाल राष्ट्र बैंकबाट चिरन्जिवी नेपालले चैत ५ मा अवकाश लिर्दैछन ।
उनको कार्यकाल सकिनैलाग्दा मुलुकको नयाँ गभर्नर को बन्ला भन्ने विषयमा चर्चा चुलिएको छ ।
अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीहरू नयाँ गभर्नर कसलाई बनाउने भन्ने विषयमा अहिलेसम्म अर्थमन्त्री युवराज खतिवडा
र प्रधानमन्त्री केपी शर्मा ओलीबीच खासै छलफल हुन नपाएको बताउँछन् । गभर्नरका आकांक्षीहरूले अर्थमन्त्री खतिवडा, नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेटी अनुनय– विनय गर्नुबाहेक अहिलेसम्म थप केही भएको छैन ।
अर्थ र प्रधानमन्त्री कार्यालयका ती अधिकारीहरूले छलफल हुन बाँकी रहे पनि गभर्नरका लागि हुने सिफारिसमा तीनैजनाका ‘आ–आफ्ना मान्छे’ पर्ने बताए ।
ती अधिकारीहरूले प्रधानमन्त्री ओलीका तर्फबाट अहिलेका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, अर्थमन्त्री खतिवडाका तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र दाहालका तर्फबाट राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ गभर्नरका लागि सिफारिसमा पर्ने दाबी गरे ।
राष्ट्र बैंक ऐनले बहालवाला गभर्नर अवकाश हुनु एक महिनाअघि नयाँ गभर्नर छान्न समिति गठन गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ । अर्थमन्त्री संयोजक हुने समितिले नयाँ गभर्नरका लागि तीनजनाको नाम सिफारिस गर्ने र तीमध्येबाट सरकारले एकलाई नियुक्त गर्ने व्यवस्था छ । ऐनले किटानी व्यवस्था गरे पनि गभर्नर नेपालको कार्यकाल सकिन एक साता मात्र बाँकी हुँदा पनि समिति गठन भएको छैन ।
मुलुकको अर्थतन्त्रको जिम्मेवारी लिएको हिसाबले व्यवहारिक रुपमा हेर्दा गभर्नर छान्ने अधिकार अर्थमन्त्रीको हो । मौद्रिक नीतिलाई हाँकेर बस्ने गभर्नरले अर्थमन्त्रीसँग मिलेर काम गर्नुपर्ने हुन्छ । तर विगतदेखि नै गभर्नर छनोट प्रधानमन्त्रीको इच्छामा हुँदै आएको छ । यसपटक पनि अवस्था त्यस्तै देखिएको ती अधिकारीहरूले बताए ।