तेस्रो मुलुक बंगलादेशसँग व्यापार साझेदारी बढाउँदै सरकार
तेस्रो मुलुकसँग व्यापार साझेदारी बढाउन सरकारले तयारी थालेको छ । नेपालले २० वस्तुको निकासीमा भन्सार छुट दिन तेस्रो मुलुक बंगलादेशसँग प्रस्ताव गरेको हो ।
दुई देशबीच सहुलियतपूर्ण व्यापार गर्ने समझदारीअनुसार नेपालले सुरुवाती चरणमा भन्सार छुटका लागि आफ्नो सूची दिएको हो । नेपालले तरकारी, फलफूल तथा जडीबुटीदेखि सिमेन्टसम्मको निकासीमा भन्सार छुट मागेको छ ।
बंगलादेशको राजधानी ढाकामा हालै सम्पन्न ‘नेपाल र बंगलादेश उच्चस्तरीय संयन्त्र’को पाँचौँ बैठकमा नेपालले भन्सार छुटका लागि वस्तुहरूको सूची बुझाएको हो । यसअघि नेपाल र बंगलादेशले केही वस्तुमा भन्सार छुट दिने समझदारी गरिसकेका छन् । सोहीअनुसार दुईवटै मुलुकले भन्सार छुटको माग गर्दै आ–आफ्ना सूची आदान–प्रदान गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए ।
नेपालले भन्सार छुटको प्रस्ताव गर्दै बंगलादेशलाई तरकारी, फलफूल, जडीबुटी, जुत्ता, सिमेन्ट, क्लिंकरलगायत २० वटा वस्तुको सूची बुझाएको छ । त्यस्तै, बंगलादेशले पनि भन्सार छुटको प्रस्ताव गर्दै मेसिनरी, जुस, प्याकेजिङ म्याटेरियललगायत वस्तुको सूची नेपाललाई दिएको हो ।
नेपाल र बंगलादेशबीच वार्षिक साढे ५ अर्ब रुपैयाँको व्यापार हुँदै आएको छ । गत आवमा नेपालले बंगलादेशमा १ अर्ब २९ करोड रुपैयाँको वस्तु निर्यात गरेको थियो भने बंगलादेशबाट नेपालमा ४ अर्ब २४ करोड रुपैयाँबराबरको वस्तु आयात भएको थियो ।
दुई देशबीचको व्यापारमा ५ देखि १ सय ३० प्रतिशतसम्म भन्सार (अन्य शुल्कसमेत जोडेर) महसुल लाग्दै आएको छ । दुवै मुलुकबीचको व्यापारलाई वृद्धि गर्न तथा केही वस्तुमा यस्ता सबैखाले शुल्क नलगाउने तयारी गरिएको हो ।