कोरोनाको ताजा अपटेड : अहिलेसम्म ३२८२ को मृत्यु, ९५ हजार बढी संक्रमित, ८० देश प्रभावित
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसबाट हालसम्म ३ हजार २८२ जनाको ज्यान गएको नयाँ तथ्यांक सार्वजनिक भएको छ। यो भाइरसबाट विश्वभर ९५ हजारभन्दा बढी मानिस संक्रमित रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ।
कोरोनाबाट चीनमा सबैभन्दा बढी ३ हजार १५ जनाको ज्यान गइसकेको छ भने ८० हजार ५५२ जना संक्रमित छन्। चीनबाहेकका अन्य मुलुकमा २६७ जनाको ज्यान गइसकेको छ।
अहिलेसम्म विश्वका ८० देशमा यो भाइरस फैलिएको छ। यीमध्ये सीमित देशमा मात्र यो भाइरसबाट आफ्ना जनतालाई बचाउने प्रयास भए पनि अन्य अधिकांशमा खासै पहल नभएकोमा डब्ल्यूएचओले दुःख व्यक्त गरेको छ।
चिनियाँ स्वास्थ्य आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार बिहीबारमात्र १४३ जना नयाँ संक्रमित फेला परेका छन् भने ३० जनाको ज्यान गएको छ।
यीमध्ये २९ जनाको ज्यान हुवेईमा गएको थियो। अहिलेसम्म हुवेई प्रान्तमा मात्र २ हजार ९३१ जनाको ज्यान गइसकेको छ। यो भाइरसबाट युरोपको इटाली पनि अतिप्रभावित देखिएको छ।
इटालीमा १४८ जनाको ज्यान गइसकेको छ भने इटालीका २२ राज्य यसको चपेटमा परेका छन्। इटालीमा ३ हजार ८५८ जना संक्रमित भएका छन्।
खाडी मुलुक इरानमा पनि हालसम्म १०७ जनाको ज्यान गइसकेको छ। इरानमा ३ हजार ५१३ जना संक्रमित भएको तथ्यांक सार्वजनिक भएको छ।
यसैगरी दक्षिण कोरिायमा पनि ४० जनाको ज्यान गइसकेको छ भने ६ हजार २८४ जना संक्रमित छन्। अमेरिकामा पनि १२ जनाको ज्यान गइसकेको छ।
अमेरिकामा हालसम्म २१५ जना संक्रमित फेला परेका छन्। अमेरिकाको वासिङ्टन र क्यालिफोर्निया सहरमा आपतकाल घोषणा गरिसकिएको छ।भारतमा हालसम्म ३० जना संक्रमित फेपा परेका छन्।
– एजेन्सी