कोरोनाको सङ्क्रमण तीव्र बनेपछि इरानले गर्यो देशभित्रको आवत जावतमा कडाइ
विश्वलाई चुनौति दिएको कोभिड–१९ फैलिने क्रम तीव्र बनेपछि इरानले देशभित्रको आवात जावात कडाइ गरेको छ ।
१ महिनाका लागि सबै विद्यालयमा बिदा दिएको इरानले आवात जावातमा पनि सीमित गरेको हो । इरानमा कोरोना भाइरसको सङ्क्रमणबाट १ सय ७ जनाको मृत्यु भइसकेको छ ।
भारतको राजधानी दिल्लीका सबै प्राथामिक विद्यालय मार्च महिनाभरिका लागि बन्द गरिएका छन् भने विद्युतीय हाजिरीमा प्रतिबन्ध लगाइएको छ ।
यस्तै अमेरिकाको क्यालिफोर्निया राज्यमा पनि आपत्काल घोषणा गरिएको बीबीसीले जनाएको छ । यसअघि वाशिङ्टनमा आपत्काल घोषणा गरिएको थियो ।
दक्षिण कोरियामा ४० जनाको ज्यान जानुको साथै ६ हजारभन्दा धेरैमा सङ्क्रमण भैसकेको छ ।यस्तै दक्षिण कोरिया र जापानमा पनि कोरोनाको सङ्क्रमण फैलने क्रम तीव्र बनेको छ ।
जापानमा ६ जनाको मृत्यु भएको छ । ३ सय ६४ जनामा सङ्क्रमणको पुष्टि भएको छ । तर जापानमा लक्षण देखिएका सबैको परीक्षण नभएको समाचार संस्था सीएनएनले जनाएको छ ।
कोरोनाको सङ्क्रमण सुरु भएको चीनमा सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या घटिरहँदा चीनबाहिर भने सङ्क्रमण तीव्र बनेको छ । कोरोना भाइरसको कारण अहिलेसम्म साढे ३३ सयभन्दा धेरैको मृत्यु भएको छ भने ९८ हजारभन्दा धेरैमा सङ्क्रमण भएका छन् ।
त्यस्तै ५४ हजारभन्दा धेरै मानिस उपचारपछि घर फर्किएका छन् ।