राष्ट्रियसभामा नयाँ अनुहार : १८ सांसदले लिए शपथ
दुई वर्षे कार्यकाल पूरा गरी १८ जना सांसद मंगलबार बिदा भएपछि बुधबार नयाँ सांसदहरुले राष्ट्रियसभामा शपथ लिएका छन् ।
राष्ट्रियसभाका नयाँ सांसदहरुलाई बुधबार बिहान राष्ट्रियसभाका अध्यक्षले शपथ गराएका हुन् । नयाँ निर्वाचित भएका १८ जना सांसद मध्ये १६ जना सत्तारुढ नेकपाका छन् ।
नयाँ सांसदहरुमा इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमार सिंह यादव, गङ्गाकुमारी बेल्बासे, वेदुराम भुसाल, भगवती न्यौपाने र नारायणकाजी श्रेष्ठ रहेका छन् । यस्तै विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँरले पनि बुधबार सांसदको शपथ लिएका हुन् ।
मंगलबार बिदा हुनेमा नेकपाका ८, कांग्रेसका ६, राजपाका दुई, समाजवादीका एक र राष्ट्रपतिबाट मनोनित एक सांसद थिए ।
१८ जना सांसदको दुई वर्षे कार्यकाल सकिएर राष्ट्रियसभा सदस्य पद रिक्त हुनुअघि नै गत माघ ९ गते सातवटै प्रदेशमा चुनाव भएको थियो । जसमा नेकपाका १६ र राजपाका २ जना उम्मेदवार निर्वाचित भएका हुन् ।