संघीय सचिब कोइरालाको स्वास्थ्यमा सरुवा, बराल उपराष्ट्रपति कार्यालयमा, राजदूत पौडेल फिर्ता
सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिब यादव कोइरालाको सरुवा स्वास्थ्य मन्त्रालयमा गरेको छ । स्वास्थ्य सचिव खगराज बराललाई भने उपराष्टपतिको कार्यालयमा सरुवा गरिएको छ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेका प्रशासन तर्फका सचिव बराललाई सरुवा गर्ने निर्णय गरेको हो।
स्वास्थ्यमा दुई जना सचिव रहने व्यवस्था छ। स्वास्थ्य सेवा तर्फको सचिव भने रिक्त रहेको छ।
बराल स्वास्थ्यमा गत भदौमा सरुवा भएर आएका थिए। शिक्षा मन्त्रालयबाट स्वास्थ्यमा सरुवा भएका बरालले भदौ ९ गते पदबहाली गरेका थिए।
डा पुष्पा चौधरीले राजिनामा दिएर विश्व स्वास्थ्य संगठनको भारतस्थित कार्यालयमा जागिर खान गएपछि स्वास्थ्य तर्फको सचिव पद रिक्त रहेको हो।
यो सँगै स्वास्थ्यमा डेढ वर्षको अवधिमा स्वास्थ्यमा पाँचौ सचिवका रुपमा कोइराला प्रवेश गर्दै छन्।
त्यस्तै सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले पौडेललाई फिर्ता बोलाएको निर्णय गरेको हो ।