खाडीमा कोरोनाको संक्रमण बढ्दै, नेपालीलाई सतर्क रहन राजदूतावासको आग्रह
चीनबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण कोरिया, अमेरिका, युरोप हुँदै खाडीका देशसम्म फैलिएपछि खाडीमा रहेका नेपालीलाई नेपाली दूतावासले सुचना निकालेर सतर्क ,सुरक्षित रहन आग्रह गरेका छन् ।
स्वदेश तथा विदेशमा रहेका नेपालीलाई अहिलेसम्म कोरोनाको संक्रमण त देखिएको छैन तर जोखिम भने बढेको छ । सम्बन्धित देशमा रहेका नेपाली दूतावासहरुले सूचना निकालेर सतर्क र सुरक्षित रहन आग्रह गरेका छन् ।
बहराइन र कुवेतमा रहेका नेपाली दूतावासले कोरोना भाइरसको लक्षणको जानकारी सहित त्यहाँ रहेका नेपालीलाई सावधानी अपनाउन अनुरोध गरेका छन् ।
सार्वजनिक स्थल, अस्पताल, सिनेमा घर, सार्वजनिक यातायात, सपिङ मलजस्ता भिडभाड धेरै हुने ठाउँमा सकभर नजान र जानुपर्ने अवस्थामा अनिवार्य मास्क (मुखावरण) लगाउन आग्रह गरिएको छ ।
यस्तै लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न र स्वास्थ्यकर्मीको निर्देशन पालना गर्नसमेत दूतावासले अनुरोध गरेका छन् ।
खाडीका देशमध्ये बहराइनमा ३३, कुवेतमा ४५, यूएईमा २१, ओमनमा ४ र कतारमा १ जनामा संक्रमण देखिएको छ । यस्तै नेपालीको सङ्ख्या धेरै रहेको मलेसिया, कोरिया, जापान लगायतका देशमा पनि कोरोनाको संक्रमण फैलिएको छ ।
नेपालीको सङ्ख्या धेरै रहेको देशमा कोरोनाको सङ्क्रमण फैलिँदै गएको र नेपालमा पनि जोखिम बढेपछि सरकारले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।
शनिबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपालसँग हवाईसहित यातायात सञ्जालले जोडिएका देशमा सङ्क्रमणको स्थिति नजिकबाट नियाल्ने र रोकथामका लागि आवश्यक निर्णय गर्ने जनाइएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएका देशमा हवाई उडान रोक्ने विषयमा समेत छलफल भएको छ ।
मन्त्रीहरुसमेत सहभागी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा विदेशबाट आउने हरेक यात्रुका स्वास्थ्य जाँच गर्न र त्यसका लागि आवश्यक डाक्टर र उपकरणको तत्काल व्यवस्था गर्नसमेत निर्दशन दिएका छन् । यस्तै अमेरिका र अस्ट्रेलियामा पनि कोरोना भाइरसका कारण १ जनाको ज्यान गएको छ । जापानमा क्वारेन्टाइनमा राखिएको पानीजहाजबाट उद्धार गरिएका ७८ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार बिहान ज्यान गएको अस्ट्रेलिया सरकारले पुष्टि गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वका ६० भन्दा धेरै देशमा फैलिसकेको छ भने झण्डै ३ हजार जनाको ज्यान गएको बीबीसीले जनाएको छ । कोरोनाबाट संक्रमित हुनेको संख्या ८६ हजार नाघेको छ ।