काँकडभिट्टाबाट सुरुहुने रेलमार्ग इटहरी,इनरुवा,धनुषा हुदैँ कञ्चनपुरसम्म
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रेल विभागका अनुसार पूर्वपश्चिम रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अन्तिम चरणमा पुगेको छ । सो रेलमार्गको राष्ट्रिय निकुञ्जबाहेक अन्यको डिपिआर पूरा भइसकेको छ ।
प्रस्तावित पूर्वपश्चिम रेलमार्ग नेपालको सबैभन्दा लामो रेलमार्ग परियोजनाका रुपमा प्रस्ताव गरिएको छ । पूर्वपश्चिम रेलमार्गको लम्बाइ १ हजार ३ किलोमिटर रहने विभागले जनाएको छ ।
रेलमार्गको लागत ६ खर्बभन्दा बढी लाग्ने अनुमानसमेत गरिएको छ ।काँकडभिट्टाबाट सुरू हुने रेलमार्ग सोही ठाउँमा स्टेसनसमेत रहनेछ । विभागका अनुसार काँकडभिट्टामा टर्मिनल स्टेसन हुने र ठाउँठाउँमा यात्रु स्टेसन पनि रहनेछ ।
काँकडभिट्टाबाट छुटेको रेल बिर्तामोड, दमक, उर्लाबारी हुँदै इटहरी बजार आउनेछ । रेल विभागका अनुसार दमकमा यात्रु चढ्ने र झर्ने सुविधा उपलब्ध छ । इटहरी बजारमा यात्रु स्टेशन राखिने डिपिआरमा उल्लेख रहेको छ ।
इटहरी स्टेसनपछि रेल पश्चिमतर्फ सुनसरीको इनरूवा, धनुषाको हरिहरपुर र धनपुरी हुँदै रेल सप्तरी जिल्लामा आइपुग्छ । सिरहाको लहानमा यात्रु स्टेसन हुनेछ ।
बर्दिबासमा पनि यात्रु स्टेसन हुनेछ । डिपिआरअनुसार निजगढमा ‘मुख्य स्टेसन’ रहने जनाइएको छ । ‘त्यहाँबाट चितवन राष्ट्रिय निकुञ्जलाई छुने हुँदा पुनः अर्को डिपिआर तयार गर्न लागिएको हो’, इन्जिनियर भट्टले भने, ‘यो डिपिआरअनुसार रेल निकुञ्जलाई छलेर भरतपुर हुँदै नवलपरासीको तम्सरियासम्म पुग्नेछ ।’
नवलपरासीमा ७ वटासम्म ‘यात्रु स्टेसन’ रहन सक्ने विभागले जनाएको छ ।नवलपरासी, बुटवल हुँदै कपिलवस्तुबाट रेल दाङको लमही पुग्ने र यसबीचमा दुईदेखि तीनवटासम्म यात्रु चढ्ने र झर्ने स्टेसन रहन सक्नेछ ।
लमहीबाट कोहलपुर हुँदै महेन्द्रनगर पुगेर कञ्चनपुरको गड्डाचौकी रेल पुग्ने गरी डिपिआर तयार पारिएको रेल विभागले जनाएको छ । रेलमार्ग सञ्चालनपछि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको यात्रा बढीमा आठ घन्टासम्म हुनेछ ।
‘रेलमार्गको इआइए प्रक्रिया पनि चालू भइसकेको छ’, इन्जिनियर भट्टले भने, ‘रेलमार्ग राजमार्गको नजिक भएर नै जाने हो ।