अनियमितताबारे भएको ठहर सहित कुलमान घिसिङबिरुद्ध मुद्दा चलाउन लेखा समितिको सिफारिस
निकै नै स्वक्ष छवीका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबिरुद्ध मुद्दा चलाउन संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले सिफारिस गरेको छ ।
डेडिकेटेड फिडर र ट्रंक लिंकमा भएको अनियमितताबारे छानबिन गर्न गठित अध्ययन उपसमितिले घिसिङ र काफ्लेसहित पदाधिकारीविरुद्ध ९ अर्ब घोटला गरेको अभियोगमा छानबिन गरी मुद्दा चलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिन सिफारिस गरेको हो।
संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले नेपाल विद्युत प्राधिकरणका निर्देशक घिसिङ र पूर्व निर्देशक मुकेश काफ्लेसहित सञ्चालक समितिका पदाधिकारीविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो ।
कांग्रेस नेता मिनेन्द्र रिजालको संयोजकत्वमा गठित पाँच सदस्यीय अध्ययन उपसमितिमा सांसदहरु तेजुलाल चौधरी, प्रदीप यादव, पार्वतीकुमारी विशुंखे र सूर्य पाठक सदस्य छन्।
उपसमितिले प्राधिकरणका पूर्व तथा वर्तमान सञ्चालक समितिका सदस्यहरु बोलाएर पटक-पटक सोधपुछ गरेको थियो। उपसमिति गठन हुनुअघि घिसिङले लेखा समितिको बैठकमा समेत आफूले इमानदारिताका साथ बक्यौता उठाउने कोसिस गरिरहेको बताएका थिए।