Logo
८ माघ २०८१, मंगलबार
(February 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रासमा ओली : राजपा र समाजवादीसँग मिलेर सरकारविरुद्ध कांग्रेसको मोर्चाबन्दी तयारी

सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मोर्चाबन्दीको तयारी थालेको छ । सरकारका गतिविधिहरू एकपछि अर्को गर्दै विवादित बन्न थालेपछि प्रतिपक्षमा प्रमुख भूमिकामा रहेको कांग्रेसले धारणा मिल्ने दलहरूसँग मोर्चाबन्दीको तयारी गरेको हो ।

त्यसका लागि कांग्रेसले संसद्मा रहेका र विचार मिल्ने दलहरूसँग सोमबारबाटै छलफल थालेको छ । सरकारविरुद्धको मोर्चाबन्दीमा संसद्मा रहेका दल राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीसँग कांग्रेसले संवाद सुरु गरेको हो । यी दुवै दल पनि संसद्मा प्रतिपक्षको हैसियतमा छन् ।

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले संसद्मा रहेका दलहरूसँग सरकारका गलत क्रियाकलापबारे कसरी अघि बढ्ने भन्ने विषयमा छलफल सुरु भएको बताए ।

‘संसद्मा रहेका राजपा र समाजवादी पार्टीसँग सरकारका पछिल्ला गतिविधिबारे कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको हो,’ नेता कार्कीले भने, ‘आवश्यक परे मोर्चाबन्दी हुन्छ ।’

प्रतिपक्षमा रहेका कांग्रेस र समाजवादी पार्टीसहित तीनै दलको बैठक सोमबार राष्ट्रिय जनता पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको थियो । बैठकमा सरकारविरुद्ध सदन र सडकमा संयुक्त रूपमा अघि बढ्नेबारे छलफल भएको हो ।

कांग्रेसले आइतबार बसेको छाया सरकारको पहिलो बैठकबाटै प्रतिपक्षमा रहेका दलहरूबीच समन्वय गरेर संयुक्त रूपमा सरकारका गतिविधिमाथि निगरानी गर्ने र सरकारका गलत क्रियाकलापको भण्डाफोर गर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार कांग्रेस र मधेसकेन्द्रित दुई प्रतिपक्षी दलबीच जनचासोका विषयमा कार्यगत एकता गरेर संसद्मा प्रस्तुत हुने समझदारी बनेको हो ।

यस्तै, भ्रष्टाचार तथा अनियमितताका विषयमा समेत संयुक्त रूपमा भण्डाफोर गरेर सरकारका गलत क्रियाकलाप आमजनतामाझ पु-याउनेबारे समेत छलफल भएको छ ।

यस्तै, सुशासनविरुद्ध सरकारको रवैया, जनजीविकाका सवाल, प्रदेशको अधिकार कटौती गरेर केन्द्रमा थप अधिकार राख्ने कार्यलगायत विषयमा तीन दलबीच रणनीति बनाउने विषयमा समेत छलफल भएको छ ।

यसैगरी, मंगलबार (आज) बस्ने संसद् बैठकमा प्रतिपक्षका तर्फबाट दलहरूले धारणा राख्ने तयारी गरेका छन् । यसअघि प्रमुख प्रतिपक्षी दल कांग्रेसले भ्रष्टाचारमा सरकारका मन्त्री नै संलग्न रहँदा पनि प्रधानमन्त्री मौन रहेको भन्दै प्रधानमन्त्रीको धारणा माग्दै संसद् अवरुद्ध गर्दै आएको थियो ।

सोमबारको छलफलमा राजपा संसदीय दलका नेता महन्थ ठाकुर, प्रमुख सचेतक लक्ष्मणलाल कर्ण, कांग्रेस सचेतक पुष्पा भुसाल, ज्ञानेन्द्रबहादुर कार्की, अख्तर कमाल मुसलमान र समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरिया सहभागी थिए ।

प्रकाशित मिति: Feb 25, 2020

प्रतिक्रिया दिनुहोस्