संसदमा महराको पत्र : बैठकमा सहभागी हुने बाटो खुल्यो
काठमाडौं : संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि १४ असोजमा राजीनामा दिएका पूर्वसभामुख कृष्णबहादुर महराको प्रतिनिधिसभा बैठकमा सहभागी हुने बाटो खुलेको छ ।
१९ असोजमा पक्राउ परेका उनले सोमबार सफाइ पाएका हुन् । काठमाडौं जिल्ला अदालतले महराले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ पाएको जानकारी संसद् सचिवालयमा पठाएको थियो ।
जिल्ला अदालतको पत्र वाचन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले महराले जबरजस्ती करणी मुद्दामा सफाइ पाएको मंगलबार संसद बैठकलाई जानकारी गराए । योसँगै महराले प्रतिनिधिसभा बैठकमा सहभागी हुन पाउने बाटो खुलेको हो ।
अब महराले सांसदको हैसियतमा प्राप्त गर्दै आएको र बलात्कार प्रयासको आरोप लागेसँगै रोकिएको सबै सेवा सुविधा प्राप्त गर्नेछन् ।