Logo
३ आश्विन २०८१, बिहीबार
(February 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युरोपेली लगानी बैंकले विद्युत वितरण प्रणालीलाई १२ अर्ब रुपैयाँ ऋण दिने

विद्युत् वितरण प्रणाली स्तरोन्नती तथा विस्तार आयोजनाका लागि युरोपेली लगानी बैङ्कले दिने १२ अर्ब ४१ करोड ऋण दिने भएको छ । ऋण सहायता प्राप्त गर्ने सम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा उल्लेखित प्रतिवद्धताको प्रभावकारिताका लागि सरकारका तर्फबाट अर्थ मन्त्रालय, अन्र्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह–सचिव श्रीकृष्ण नेपालले र यूरोपेली लगानी बैंकका तर्फबाट उक्त बैंकका डाइरेक्टर मारिया स बारागन र लिगल काउन्सेल बोर्जा ओक्जाङ्गोइटीले हस्ताक्षर गरी मेलमार्फत आदान—प्रदान गरिएको छ ।

खासगरी प्रदेश नम्बर ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा त्यहाँका जनताको विद्युतमा पहुँच बढाउने, विद्युत आपूर्तिको गुणस्तर एवम् दक्षता बढाउने र ऊर्जा व्यापारलाई सहजीकरण गर्ने उद्देश्य रहेको विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजना अघि बढाइएको हो ।

उक्त आयोजना आउँदो सन् २०२३ को डिसेम्वर सम्ममा सम्पन्न गर्ने लक्ष्य छ । नेपाल विद्युत प्राधिकरणले कार्यान्वयन गर्ने प्रस्तुत आयोजना अन्तर्गत ३३/११ केभी भोल्टजका सवस्टेसनहरु तथा ३३ केभी भोल्टेजका आपूर्ति लाईनहरु निर्माण गर्ने, ११ किलो भोल्टका आपूर्ति लाईनहरु, वितरण ट्रान्सफर्मरहरु र न्यून भोल्टेजका आपूर्ति लाईनहरु निर्माण गरिनेछ ।

सो आयोजनामा नपुग हुने रकममध्ये ११२.३ मिलियन अमेरिकी डलर बराबरको ऋण सहयाता एशियाली पूर्वाधार लगानी बैंकबाट पनि सह—लगानीको रुपमा सम्मिश्रण गर्नका लागि वार्ता भइसकेको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Feb 17, 2020

प्रतिक्रिया दिनुहोस्