गृह जिल्ला झापा पुगे प्रधानमन्त्री ओली, प्रदेश प्रमुख र मुख्यमन्त्रीले गरे स्वागत
प्रधानमन्त्री केपी शर्मा ओली झापा जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज झापा पुगेका छन् ।
भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी, मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तुकुमार नेम्वाङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलगायतले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न झापाका प्रतिनिधिसभा र प्रदेशसभाका सांसद् र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी भएका थिए । प्रधानमन्त्रीसँगै पूर्वसभामुख सुवाशचन्द्र नेम्वाङ पनि सहभागी भएका छन् ।
झापामा रहँदा प्रधानमन्त्रीले दमक कृष्ण मन्दिरदेखि बेलडाँगी कालोपत्रे सडकको उद्घाटन, दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा बनेको पक्की पुलकोे उद्घाटन, दमक नगरपालिका-१ मा जनता आवासमार्फत निर्माण गरिएका घरको साँचो हस्तान्तरण गर्ने बताइएको छ ।
प्रधानमन्त्री ओलीले आज अपराह्न बेलडाँगीमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।