‘जनयुद्धकै कारण देशमा संघीय लोकतान्त्रीक गणतन्त्र स्थापित भएको हो’
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन माओवादीले सुरु गरेको जनयुद्धकै कारण देशमा संघीय लोकतान्त्रीक गणतन्त्र स्थापित हुन सकेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आयोजना गरेको जनआन्दोलन तथा जनयुद्धका शहीदहरुको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् ।
उनले भने, ‘सही विचार र सही नेतृत्वले इतिहासमा ठूलोठूलो फड्को मार्न योगदान गर्न सक्छ। सही विचार र सही नेतृत्वले असम्भव जस्ता ठानिएका परिवर्तनलाई पनि सम्भव तुल्याउन सक्छ। किनभने केही वर्ष पहिलेसम्म नेपालमा यति छिट्टै संविधानसभा भइहाल्ला संघीय लोकतान्त्रीक गणतन्त्र घोषणा गरीहाल्ला आपसमा निकै तितो र कटुतापूर्ण र कहीले काहिं सत्रुता पूर्ण संघर्षमा रहेका २ वटा मुख्य पार्टीहरू एकतामा आइपुग्लान र अनि चुनावमा दुई तिहाई बहुमत ल्याउने गरी प्रस्तुत होलान भन्ने केही वर्ष अगाडीसम्म मानिसले सोच्दैन थिए’ उनले भने ’तर म भन्न चाहन्छु, विनम्रतापूर्वक भन्न चाहन्छु सही विचार र सही नेतृत्व छ भने ती असम्भव भनेका कुरालाई सम्भव बनाउन सकिन्छ, जनयुद्ध आफैँ सुरुका दिनहरूमा हेर्दा धेरैलाई विश्वास थिएन ।’ अध्यक्ष दाहालले तत्कालिन समयमा माओवादी र एमालेबीच संविधान सभामा जाने भन्ने सहमति भएको र त्यसकै जगमा कांग्रेससँग पनि मिल्न पुगेको र सात राजनीतिक दलहरुसँग माओवादीले १२ बुँदे सम्झौता गर्न पुगेको बताए।
उनले देशमा एकातिर जनयुद्ध र अर्को्तिर शान्तिपूर्ण जनआन्दोलन एकसाथ सञ्चालन गर्न तत्कालिन ७ राजनीतिक दल र नेकपा माओवादीबीचमा भएको समझदारीबाट नै सम्भव भएको बताए।
अध्यक्ष दाहालले असाधारण र फरक किसिमबाट बनेको समझदारीबाट नै देशमा राजतन्त्रको समाप्ती र संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना गर्न सफल भएको समेत बताए।