Logo
४ मंसिर २०८१, मंगलबार
(February 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनबाट फर्किनेहरू : १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने-सिन्धुपाल्चोकमा ?

चीनस्थित नेपाली दूतावासले स्वदेश फर्काइने नेपालीलाई सुरक्षित स्थान (क्वारेन्टाइन)मा बस्दा र नेपाल फर्किने क्रममा पालना गर्नुपर्ने विषयको सर्तनामा गराएको छ । सर्तनामाअनुसार नेपाल ल्याइएपछि उनीहरूले १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा रहँदा विश्व स्वास्थ्य संगठन र सरकारले तोकेको सर्त पालना गर्नुपर्नेछ ।

दूतावासले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार बुधबार सर्तनामा गराइएको हो । क्वारेन्टाइनमा रहँदासम्म परिवार र आफन्तलाई भेट्न नपाइने, त्यहाँ गरिएको खाने, बस्ने, संक्रमणको रोकथाम र उपचारको व्यवस्थापनबारे सर्तनामामा उल्लेख छ ।

 

सरकारले चीनबाट ल्याइने नेपाली राख्न क्वारेन्टाइनको व्यवस्था गरिसकेको छ । ६० कोठाको क्वारेन्टाइनमा १८६ बेड राखिएका छन् । प्रत्येक बेड एक मिटरको ‘ग्याप’मा राखिएको छ । ६ जनाले एक शौचालय प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । त्यहाँ दुई सय ५० जनासम्म अटाउन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा बस्नेका लागि खाने व्यवस्था सेनाले गर्नेछ ।

अभिभावकले दुई हप्ता क्वारेन्टाइनमा रहँदा परिवारसँग सम्पर्क गर्न सिमका साथै इन्टरनेटको व्यवस्था गर्न माग गरेका छन् । सरकारले भने पहिलो दायित्व नेपाल ल्याउनु भएको भन्दै इन्टरनेट सुविधा दिनेबारे तत्काल कुनै योजना नबनाएको बताएको छ ।

 

क्वारेन्टाइन स्थलमा संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाएको सरकारले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार चीनबाट ल्याइएका नेपालीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गरी रोगको शंका लागेमा अस्पताल र रोगको लक्षण नभएकालाई मात्र क्वारेन्टाइनमा लगिनेछ ।

सरकारले चीनको हुबेई प्रान्तका विभिन्न स्थानमा रहेका एक सय ८० नेपाली लिन शनिबार नेपाल वायुसेवा निगमको एयरबस ३३०–२०० सिरिजको दुई सय ७४ सिटे जहाज वुहान पठाउँदै छ । जहाजमा एक चिकित्सक, दुई नर्स र एक पारामेडिक्स रहेको चिकित्सक टोली पनि जानेछ । उनीहरूसहित चीनबाट ल्याइएका नागरिकको उपचारमा संलग्न हुने ८६ स्वास्थ्यकर्मी र चीन जाने जहाजको चालक दलका १६ सदस्यलाई स्वास्थ्य मन्त्रालयले तालिम दिइसकेको छ ।

सिन्धुपाल्चोकमा स्वाइन फ्लु हुन सक्ने

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ गुम्बागाउँमा फैलिएको भाइरस कोरोना नभएर स्वाइन फ्लु (ए एचवान एनवान पिडिएम ०९) हुन सक्ने आशंका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ । त्यहाँका जनतामा उच्च ज्वरो आउने, रुघाखोकी र टाउको दुख्नेजस्ता समस्या देखिएको छ ।

स्वास्थ्य मन्त्रालयलाई जुगल गाउँपालिकाले आपत्कालीन पत्र पठाउँदै रोगको पहिचानका लागि तत्काल विशेष टोली पठाउन अनुरोध गरेको थियो । मन्त्रालयले बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रबाट डा. पीताम्बर खनालसहित दुई स्वास्थ्यकर्मीको टोली खटाएको छ । त्यस्तै, जुगल गाउँपालिकाबाट स्वास्थ्य शाखा प्रमुख हेल्थ असिस्टेन्ट अनिल साउदसहित तीन, चौतारा अस्पतालबाट दुई चिकित्सक र दुईजना प्रयोगशाला प्राविधिक, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट एकजना प्राविधिक प्रभावित स्थानमा खटाइएका छन् ।

महाशाखाका निर्देशक डा. विवेक लालले २३ गतेदेखि केही व्यक्तिमा ज्वरो र रुघाखोकी देखिएकोमा हाल संक्रमितको संख्या बढेर दुई सय पुगेको बताए । परीक्षण नहुँदासम्म कोरोना हो वा स्वाइन फ्लु किटान गरेर भन्न नसकिने बताए । ‘बिरामीको नमुना परीक्षण नगर्दासम्म कोरोना वा स्वाइन फ्लु यकिन गर्न सक्ने अवस्था छैन,’ उनले भने । नेपालमा पछिल्लो ६ हप्तामा नौजनामा स्वाइन फ्लुको जीवाणु देखिएकोे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: Feb 13, 2020

प्रतिक्रिया दिनुहोस्