Logo
२ माघ २०८१, बुधबार
(February 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय तहमा अनियमितता : अख्तियारको महेन्द्रनगर कार्यालयमा मात्र यो वर्ष ३८९ उजुरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयमा स्थानीय तहका उजुरी धेरै परेका छन् । कार्यालयका अनुसार डोटी जिल्लाका सङ्घसंस्था र स्थानीय तहका योजनामा अनियमितता भएको भन्दै यो वर्ष ३८९ उजुरी परेका छन्।

तीमध्ये शिक्षा क्षेत्रका मात्रै २४१ वटा उजुरी परेका छन् । जिल्लाका स्थानीय तहमा अनियमितता भइरहेका उजुरी विगतभन्दा बढी आइरहेको आयोगको महेन्द्रनगरस्थित कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्ट बताएका छन् ।

उनले भने, “विगतमा स्थानीय तहमा अनियमितताका उजुरी १२/१५ आउँथे भने अहिले त सिधै एक सयभन्दा बढी आउन थालेका छन् ।

”एउटै योजनामा दोहोरो भुक्तानी लिने, उपभोक्ता समिति गठनमा आफ्ना कार्यकर्ता राख्ने तथा गुणस्तरहीन काम गरेको भन्दै उजुरी आउने क्रम बढेको सूचना अधिकारी विष्टको भनाइ छ ।

डोटीमा दुई नगरपालिका र सात गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहको ढुकुटीबाट खर्चिएका मध्ये रु १३ करोड ७४ लाख बेरुजु देखिएको छ ।

विसं २०७४/७५ मा आएको रु दुई अर्ब ६७ करोड ५७ लाख तीन हजार कूल बजेटमध्ये सो रकम बेरुजु देखिएको हो । अघिल्लो आर्थिक वर्षमा जिल्लाभर सबैभन्दा बढी दिपायल सिलगढी नगरपालिकाको रकम बेरुजु देखिएको छ ।

नगरको रु ४६ करोड ५० लाख १९ हजार बजेटमध्ये रु पाँच करोड एक लाख बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

त्यस्तै पूर्वीचौकी गाउँपालिकाको रु दुई करोड १३ लाख नौ हजार, शिखर नगरपालिकाको रु ५६ लाख, बोगटान गाउँपालिकाको रु एक करोड ४७ लाख १६ हजार, सायल गाउँपालिकाको रु एक करोड ६ लाख २२ हजार, आदर्श गाउँपालिकाको रु एक करोड ५५ हजार, केआई सिंह गाउँपालिकाको रु ९६ लाख १४ हजार, बडीकेदार गाउँपालिकाको रु ८५ लाख ३६ हजार र जोरायल गाउँपालिकाको रु ६७ लाख ३२ हजार रुपैयाँ बेरुजु देखाइएको छ ।

प्रकाशित मिति: Feb 12, 2020

प्रतिक्रिया दिनुहोस्