Logo
२ माघ २०८१, बुधबार
(February 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगन

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध भएको छ । बैठकको प्रारम्भमै काँग्रेसका सांसदहरु आशनबाट उभिएर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले सांसद मीनबहादुर विश्वकर्मालाई बोल्न समय दिएका छन् ।

सांसद विश्वकर्माले काँग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई मुद्दा दायर गरिएको भन्दै बैठक सञ्चालनमा सहयोग गर्न नसकिने बताएका छन् । उहाँले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा कसैलाई काखा र कसैलाई पाखा हुने गरी सरकारको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको आरोप लगाएका छन ।

काँग्रेसले यही विषयमा विरोध जनाउँदै बिहीबार पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेको थियो । यही माघ २२ गते आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा उपसभापति गच्छदारलगायत १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सांसद विश्वकर्माको भनाइपछि पनि काँग्रेसका सांसदहरु आफ्नो आशनबाट उभिएर विरोध जनाइरहँदा सभामुख सापकोटाले पटकपटक बैठक सञ्चालन गर्नका लागि आग्रह गरेका छन् ।

उनले ले बैठक अवरोध गरे सो विषयको समाधान नहुने भन्दै सदनलाई जीवन्त र प्रभावकारी बनाउनका लागि बैठकमा छलफल सञ्चालन गर्नुपर्ने आग्रह गरेका थिए । सभामुखको उक्त आग्रहपछि पनि प्रतिपक्षी दलका सांसदहरुले उभिएर विरोध जनाइरहेका कारण सभामुखले बैठक आधा घण्टाका लागि स्थगन गरेको घोषणा गरेका छन् ।

प्रतिपक्ष दलले उक्त प्रकरणमा निर्णयमा प्रत्यक्षरुपमा संलग्नलाई उन्मुक्ति दिएर संलग्न नै नभएका व्यक्तिलाई छानी छानी राजनीतिक आस्थाका आधारमा अभियोग लगाएको आरोप लगाएको छ ।

प्रकाशित मिति: Feb 7, 2020

प्रतिक्रिया दिनुहोस्