गच्छदारको बचाउ गर्दै कांग्रेसले गर्यो संसद अवरोध,गच्छदारको गृह जिल्लामा कांगेसद्धारा आन्दोलनको तयारी
ललिता निवास जग्गा प्रकरणमा पार्टी उपसभापति बिजयकुमार गच्छदार मुछिएको विषयलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै सुनसरी काँग्रेसले आन्दोलनको तयारी थालेको छ ।
गृह जिल्ला समेत रहेको सुनसरी गच्छदारको राजनीतिक कर्मथलो समेत भएकाले जिल्ला पार्टी कार्यालयले पत्रकार सम्मेलन गरी आन्दोलनमा होमिने जानकारी गराएको हो । सुनसरी काँग्रेसले भातृ संगठन सहित जिल्ला स्तरका सबै तह र तप्काका नेता तथा कार्यकर्तालाई आन्दोलनको तयारीमा जुट्न तयारी अवस्थामा रहन समेत भनेको छ । गच्छदार सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।
प्रमुख विपक्षी नेपाली कांग्रेसले ललित निवास जग्गा प्रकरणमा आफ्नो संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै संसद अवरुद्ध गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मात्र ललितानिवास प्रकरणमा गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर कांग्रेसले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरिएको भन्दै विरोध गरेको छ ।
बिहीबार संसदको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले राजनीतिक प्रतिशोधका आधारमा गच्छदारमाथि मुद्धा लगाएको बताइन् । ‘यसबाट अख्तियार जस्तो संवैधानिक आयोग पनि सरकारको लाचार छायाँ बनेको पुष्टि भएको छ’ उनले भनिन् । राजनीतिक पूर्वाग्रहका आधारमा उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा चलाइएको भन्दै त्यसविरुद्ध पार्टी र भातृ संस्था परिचालन गर्ने नेपाली कांग्रेसले निर्णय गरेको छ।
बिहीबार सभापति निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
पार्टी उपसभापति विजयकुमार गच्छदालाई भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएपछि नेपाली कांग्रेसले आपत्ति जनाएको थियो ।
कांग्रेसले भातृसंस्था र पार्टी परिचालन गर्ने रणनीति तय गर्न भातृसंस्थाका पदाधिकारीको बैठक समेत बोलाएको छ ।
पार्टी कार्यालय सानेपामा दिउँसो ३ बजे बोलाइएको बैठकले यससम्बन्धी रणनीति तय गर्ने बताइएको छ। ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्रीसमेत रहेका उपसभापति गच्छदारसहित १ सय १० जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विषेश अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले भूमिसुधार मन्त्रीको हैसियतमा मन्त्रिपरिषदमा पेस गरेको निर्णयले सरकारी जग्गा व्यक्तिको भएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो। कांग्रेस आकस्मिक बैठकमा पदाधिकारीसहित वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पनि सहभागी रहेको महामन्त्री शसांक कोइरालाका निजी सचिव भरत तिवारीले जानकारी दिए।