Logo
३ आश्विन २०८१, बिहीबार
(February 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसीसी परियोजना निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु

सरकारले एमसीसी परियोजना निर्माणका लागि जग्गा अधिग्रहण गर्न प्रक्रिया अघि बढाएको छ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन अर्थात् एमसीसी परियोजना निर्माणका लागि सरकारले जग्गा अधिग्रहणको सूचना प्रकाशन गरी प्रक्रिया अघि बढाएको हो ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले साविकको रातमाटे गाविस वडा नम्बर ६ र ९ तथा हालको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ मा रहेको करिब ३ सय ८५ रोपनी जग्गा अधिग्रहणका लागि सूचना प्रकाशन गरेको हो ।

मिलेनियम च्यालेञ्ज कर्पोरेशनसँग भएको सम्झौता बमोजिम सरकारले पूरा गर्नुपर्ने पूर्व शर्त अनुसार रातमाटेको जग्गा अधिग्रहणका लागि सूचना प्रकाशन भएको हो ।

एमसीसीको सम्बन्धमा विवाद चलिरहँदा र संसदबाट पास हुनुपर्ने यो परियोजनाको सम्बन्धमा छलफल चलिरहेको भएपनि सरकारले भने जग्गा अधिग्रहणको सूचना प्रकाशन गरेको हो ।

एमसीसीसँग भएको सम्झौता अनुसार परियोजना सुरु हुनु अगावै सरकारले जग्गा अधिग्रहणको काम पूरा गरिसक्नुपर्ने उल्लेख छ । जग्गा अधिग्रहण गरी त्यसको मुआब्जा पनि नेपाल सरकारले नै तिर्नुपर्ने पूर्वशर्त अनुसार सरकारले जग्गा अधिग्रहणको सूचना बुधबार प्रकाशन गरेको हो ।

४ सय केभी क्षमताको प्रसारणलाइन निर्माणका लागि नुवाकोटको रातमाटेमा एमसीसीले ३ वटा सब स्टेशन तयार गर्दैछ । आगामी असार १६ गतेदेखि सुरु गर्नैपर्ने परियोजनाका लागि अहिले जग्गा अधिग्रहणको काम सूचना जारी भएको हो ।

गृह मन्त्रालय श्रोतका अनुसार रातमाटेको जग्गा ३ तहमा वर्गिकरण गरिएको छ । वर्गीकरणमा परेका जग्गाहरुको प्रतिआना सरदर १ लाख ७६ हजारका दरले मुआब्जा वितरण गरिने छ । मुआब्जा वितरणका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मुआब्जा निर्धारण समिति गठन गरिएको हुन्छ ।

प्रकाशित मिति: Feb 5, 2020

प्रतिक्रिया दिनुहोस्