कोरोना भाइरसको महामारीले सामान्य जनजीवनदेखि पर्यटक आवागमन प्रत्यक्ष प्रभावित
एक महिनाअघि दुई सय ४५ रुपैयाँ किलोको लसुनको भाउ सोमबार पाँच सय ५५ रुपैयाँमा किनबेच भयो। पछिल्लो एक महिनामा अधिकांश तरकारीको भाउ घट्दा पनि लसुनको भाउ दोब्बरभन्दा बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक छ।
यसअघि खुद्रा बजारमा पाँच सय रुपैयाँ प्याकेटमा पाइने फेस मास्कको भाउ होलसेलमै आठ सय रुपैयाँ नाघेको औषधि व्यवसायी बताउँछन्। यी दुवै वस्तुको भाउ अकासिनुको एउटै कारण हो– चीनमा फैलिएको कोरोना भाइरस।
कोरोना भाइरसको महामारीले सामान्य जनजीवनदेखि पर्यटक आवागमन प्रत्यक्ष प्रभावित भएको छ। उत्तरी छिमेकमा फैलिएको महामारीले मुलुकको समग्र अर्थतन्त्रमै असर गर्न सक्ने जानकार बताउँछन्। विश्व अर्थतन्त्रलाई नै प्रभावित पार्ने अनुमान गरिएको यो महामारीले मूलतः पर्यटन उद्योगलाई धराशयी पार्ने धेरैको विश्लेषण छ।
‘जनवरीमै पर्यटक भित्रिने क्रम आधा घटिसकेको छ। भ्रमण वर्ष र पर्यटन क्षेत्रको आम्दानीलाई महामारीले ज्यादै ठूलो असर पार्ने देखिएको छ’, नेपाल उद्योग परिसंघका अध्यक्ष शतिशकुमार मोरले भने।
जनवरी २५ मा चिनियाँ नयाँ वर्ष मनाउन चीनको वुहानलगायत सहरमा गएका चिनियाँ व्यवसायी र ठेकेदार नेपाल फर्कन ढिलाइ भएको छ। जसका कारण कतिपय विकास निर्माणका काम प्रभावित भएका छन्। महामारीकै कारण चीनसँग सरकारी तथा निजी क्षेत्रको तहमा हुने द्विपक्षीय बैठक प्रभावित भएका छन्।
नेपाल बैंकर संघका अध्यक्ष भुवनकुमार दाहाल पनि चिनियाँ महामारीले बैंकिङ क्षेत्रमा समेत जोखिम निम्त्याउने बताउँछन्। ‘यसले हाम्रो होटललगायत पर्यटन क्षेत्रका अन्य व्यवसायलाई धक्का लाग्न सक्छ’, उनी भन्छन्, ‘पर्यटनसँग सम्बन्धित अन्य आम्दानी पनि गुमाउनुपर्छ।’
नेपालले पर्यटनबाट सर्वाधिक आम्दानी गर्ने स्रोत चीन हो। यसले गर्दा बैंकको ठूलो ऋण रकममा समस्या पर्न सक्ने जोखिम अरू बैंकले पनि देखाएका छन्। ‘पोखराका होटल अहिल्यै समस्यामा पर्न थालिसकेका छन्’, अर्का एक बैंकर भन्छन्, ‘चिनियाँ पर्यटक आउन बन्द भयो भने ट्राभल कम्पनीदेखि हवाई अड्डाको आम्दानीसमेत घट्छ।’
पछिल्लो समय भ्रमण वर्षलाई लक्ष्य गरेर होटेल र ट्राभल तथा उड्डयन क्षेत्रमा बैंकले पनि लगानी बढाएका छन्। ‘गाडी किन्न होस् वा पुराना होटलको पुनः सञ्चालनका लागि जोखिम उठाउन पनि बैंक पछि परेका छैनन्’, अर्का एक बैंकर भन्छन्।
नेपालमा पनि कोरोना संक्रमण बढेको अवस्थामा यस्तो लगानी डुब्ने जोखिम बढी भएको ती बैंकरले बताए। नेपाल उद्योग परिसंघका परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा पनि उक्त महामारीले ठूलो संकट ल्याउन सक्ने बताउँछन्। ‘हाम्रा उद्योगधन्दा पनि विदेशी कच्चा पदार्थमा आधारित छ। चीनले केमिकलमा आधारित कच्चा पदार्थ (औषधि, मलखाद, कीटनाशक विषादीलगायतका उद्योग) को निर्यात घटाउँदा हाम्रा उद्योगधन्दा समस्यामा पर्छन्’, उनी भन्छन्।
यससँगै नेपाली अर्थतन्त्रको अर्को जोखिम महँगी पनि हो। नेपालले विद्युतीय सामग्री, लत्ताकपडा, जुत्ताजस्ता सामान चीनबाट ठूलो परिमाणमा भिœयाउने गरेको छ। त्यस्ता सामान अन्यत्रबाट आयात गर्दा लागत महँगो पर्ने र चिनियाँ उत्पादन घटेपछि झनै महँगी चर्कने खतरा हुन्छ। चिनियाँ महामारीले नेपालमा ठूला पूर्वाधार परियोजना निर्माणमा अवरोध सिर्जना गर्ने, चिनियाँ सहयोगमा बन्ने परियोजना अघि बढाउन ढिलाइ हुन सक्ने व्यवसायीले बताएका छन्।
यससँगै विदेशी विनिमयबाट नेपालले पाउने लाभ यो घटनाले कमजोर पार्नेछ। चिनियाँ अनुदान र पर्यटकले गर्ने खर्चका कारण नेपालले विदेशी मुद्रा आर्जन गर्छ। त्यस्तो आम्दानी बाह्य विश्वबाट उपभोग्य सामग्री आयात गर्न खर्च गर्न सकिन्छ। तर विदेशी मुद्राको ढुकुटीमै समस्या उत्पन्न हुने अवस्थाले मुलुकको आयात क्षमता अझै कमजोर पार्ने राष्ट्र बैंकका अधिकारी बताउँछन्।
राष्ट्र बैंकले यसै पनि यो वर्ष अघिल्ला वर्षझैं विदेशी मुद्रा आर्जन गर्न नसक्ने आफ्नो मौद्रिक नीतिमार्फत स्पष्ट पारिसकेको छ। अझै चिनियाँ समस्याले सरकारको यो चुनौतीलाई झन् जटिल बनाउने उनीहरू बताउँछन्। राष्ट्र बैंकका अधिकारी यस्तो महामारीका कारण उत्पन्न हुन सक्ने आर्थिक र वित्तीय जोखिम आँकलन गरेर त्यसलाई व्यवस्थापन गर्ने बाटो खोज्न आफूहरू प्रयासरत रहेको बताए। अन्नपूर्ण पोस्टमा खबर छ ।