Logo
३ आश्विन २०८१, बिहीबार
(February 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरसको उपचार गर्न काठमाडौंमा तीन अस्पताल छुट्याइयो

चीनबाट फैलिएको कोरोना भाइरसका विषयमा प्रतिनिधि सभामा विशेष छलफल भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सार्वजनिक महत्वको विषयमा भन्दै नेपाल सरकारको तयारी बारे जानकारी दिएका छन्। यस क्रममा उनले सम्भावित संक्रमितलाई लक्ष्य गरेर तीन अस्पतालमा ४३ बेड छुट्याइएको जानकारी दिए। यस विषयमा सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मन्त्रिपरिषद् र विज्ञको बैठक बसेको बताए।

मन्त्री ढकालले स्वास्थ्य मन्त्री (आफ्नो) को नेतृत्वमा उच्चस्तरीय निर्देशक समिति बनाइएको र सचिवको नेतृत्वमा कार्यकारी समिति बनाएर काम भइरहेको उनले जानकारी दिएका छन्। यसैगरी यस्तो रोगविरुद्ध लड्नका लागि ३०० बेडको सरुवा रोग उपचार गर्ने अस्पताल बनाउने तयारी सरकारले गरेको उनले बताएका छन्। उनका अनुसार अस्पताल स्वास्थ्य मन्त्रालयअन्तर्गत रहनेछ।

ad
तत्कालका लागि उपत्यका बाहिर पोखरा, चितवन र भैरहवामा हेल्प डेस्क व्यवस्था गरिएको बताइएको छ। कोरोना भाइरस संक्रमण रोकथाममा यी जिल्लाका अस्पताललाई पनि एकाकार गरेर जाने योजनामा रहेको मन्त्री ढकालले बताए। यसैगरी रसुवा र तातोपानी नाका सम्भावित जोखिममा राखेको उनले जानकारी दिएका छन्।

सभाको शुन्य समय र प्रश्नोत्तरमा बोल्ने अधिकांस सांसदहरुले कोरोना भाइरसका विषयमा सरकारको तयारी र अवस्थाका विषयमा जानकारी माग गरेका थिए।

चीनमा रहेका १८० जनाले नेपाल आउन फर्म भरेको बताउँदै उनले उनीहरुलाई ल्याउने तयारी सरकारले गरेको बताए। उनले त्यहाँको एअरपोर्ट बन्द रहेको र अन्य यातायात नचलेकाले ल्याउन ढिला भएको बताउँदै नेपालमा समेत राख्ने ठाउँ तय भएको बताए। उनले भने, ‘हामीले उनीहरुलाई बस्तीबाहिर कम्तिमा १४ दिन राख्ने तयारी गरिरहेका छौं। त्यो परीक्षणबाट भाइरस देखिएन भने मात्रै उहाँहरुले आफन्तसँग भेटघाट गर्न जान पाउनुहुन्छ।’

कोरोना भाइरस चीनका २२ वटा प्रान्त र विश्वका २३ मुलुकमा फैलिएको छ । डब्लुएचओका अनुसार अहिलेसम्म १७ हजार ३ सय ५१ व्यक्ति यसबाट संक्रमित भएका छन्। यीमध्ये १७ हजार २ सय ३८ जना चीनमा छन्। अहिलेसम्म ३ सय ६३ जनाको मृत्यु भएको छ। तीमध्ये ३ सय ६२ जनाको मृत्यु चीनमै भएको छ। एकजना चिनियाँ नागरिकको भने फिलिपिन्समा मृत्यु भएको छ।

प्रकाशित मिति: Feb 4, 2020

प्रतिक्रिया दिनुहोस्