वुहानबाट फिर्ता ल्याईने १७७ नेपाली विद्यार्थीको त्रिभुवन विमानस्थलमै स्वास्थ्य परीक्षण गरिने
काठमाडौँ : चीनको वुहानमा रहेका १७७ नेपाली विद्यार्थीलाई नेपाल ल्याइने भएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिएपछि नेपाली विद्यार्थीलाई नेपाल फिर्ता ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
बेइजिङस्थित नेपाली दूतावासले उहानमा रहेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित तबलरले नेपाल ल्याउनका लागि फाराम भर्न शनिबार नै सूचना जारी गरिसकेको छ । उनीहरुलाई नेपाल ल्याइँदा चीनबाट प्रस्थान गर्ने विमानस्थलमा स्वस्थ्य परीक्षण हुनेछ भने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पनि फेरि स्वास्थ्य परीक्षण गरिनेछ ।
चेकजाँचको क्रममा संक्रमण भएको पाइए उपत्यकाको विभिन्न अस्पतालका व्यवस्था गरिएको आइसोलेसन वार्डमा राखी उपचार गर्ने व्यवस्था सरकारले मिलाएको छ ।
यस्तै कोरोनाको संक्रमणको आशंका भएकालाई पनि दुई साता निगरानीमा राख्ने मन्त्रालयले जनाएको छ । अन्तर्रा्ष्ट्रिय स्वास्थ्य नियमनको प्रावधान पालना हुनेगरी कामकारबाही भइरहेको मन्त्रालयका प्रवक्ता मोहन प्रसाद श्रेष्ठले जानकारी दिए ।
सरकारले नेपालीलाई उद्दार गर्न जहाज तयारी अवस्थामा राखेको भएपनि कहिले पठाउने भन्नेबारे चाहिँ टुंगो लागिसकेको छैन ।